नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने खण्डको यात्रा कष्टपूर्ण
नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने खण्डको यात्रा कष्टपूर्ण
    • बेल संचार

    • १४ चैत्र २०८१, बिहीबार
नारायणगढ

बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा कठिन र जोखिमपूर्ण बनेको छ। सडक विस्तारका क्रममा राजमार्ग भत्काइएपछि पुनर्निर्माण ढिलाइ हुँदा यात्रुहरू दिनहुँ सास्ती खेप्न बाध्य छन्। अन्य क्षेत्रमा कालोपत्रे कार्य तीव्र भए पनि दाउन्ने क्षेत्रमा अस्थायी डाइभर्सन, उबड-खाबड सडक, साँघुरा घुम्ती, धुलाम्मे बाटोका कारण यात्रा झनै कष्टकर बनेको छ।

यात्रु जीवन ढकालका अनुसार, दुम्कीवासदेखि बर्दघाटसम्मको बाटो अत्यन्त जोखिमपूर्ण छ। धुलो, धुवाँ, साँघुरो सडक, ट्राफिक जाम, र वैकल्पिक मार्गको अभावले यात्रुहरू थप समस्यामा परेका छन्। चालकहरूका अनुसार, १४ किलोमिटरको यात्रा पार गर्न २-३ घण्टा लाग्ने तथा मध्यरातमा यात्रा गर्नुपर्ने सवारीसाधनहरू झन् बढी जोखिममा पर्ने गरेका छन्।

इलाका प्रहरी कार्यालय, दुम्कीवासका प्रहरी नायब निरीक्षक लक्ष्मण तनगामीका अनुसार, दाउन्ने सडकखण्ड साँघुरो, उकालो-ओरालो र घुमाउरो मोडयुक्त भएकाले सवारी जाम र दुर्घटनाको जोखिम उच्च छ। घ्यू खोला र ८३ मोड बढी दुर्घटना हुने क्षेत्र मानिन्छन्।

नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार, पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये ४७ किलोमिटर एकतर्फी कालोपत्र गरिएको छ। दाउन्ने क्षेत्रमा पहाडी कटानको काम भइरहेकोले यात्रा अझै कठिन बनेको छ। हालसम्म ५७.७% मात्र भौतिक प्रगति भएको छ।

निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङका सहव्यवस्थापक राकेश झाले सवारी आवागमनमा अवरोध कम गर्ने गरी काम भइरहेको बताए। हाल ६५० भन्दा बढी कामदार परिचालन गरिएको छ। दाउन्ने क्षेत्रमा तीन लेनको सडक विस्तार भइरहेको छ।

यो आयोजना रु १७ अर्बको लागतमा सुरु भएको भए पनि म्याद तीन पटक थप गरिएको छ। तेस्रो पटक थपिएको म्याद २०८२ साउन ८ गते समाप्त हुने छ।

साताकाे चर्चित
सम्बन्धित