काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसद अवरोध हट्ने छैन भन्ने विपक्षी दलहरूले प्रष्ट पारेका छन्।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी लगायतका दलहरूले बुधबार पनि संसद अवरोध गरेका थिए। उनीहरूले प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा संसदमा आएर जवाफ दिनुपर्ने माग राख्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध पारेका हुन्।
प्रधानमन्त्री ओलीले संसदमा जवाफ नदिने बताइसकेकाले संसद अवरोध तत्काल हट्ने सम्भावना कम देखिएको छ।
नेकपा माओवादी केन्द्रकी सचेतक रुपासोशी चौधरी भन्छिन्,
“हामीले काबिल कर्मचारी किन हटाइएको भनेर सोधेका हौं। सदनमा आएर जवाफ दिए भइहाल्छ। अन्यथा, प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्दैन।”
उनले प्रधानमन्त्रीले संसदमा नभई सार्वजनिक रूपमा बाटोमै जवाफ दिइरहेकोप्रति असन्तुष्टि जनाउँदै भनिन्,
“जवाफ दिनुपर्ने ठाउँ सदन हो, सार्वजनिक बाटो होइन। यो बोध प्रधानमन्त्रीलाई हुनुपर्छ। हामी प्रधानमन्त्रीलाई जवाफ दिने ठाउँ कुन हो भनेर सम्झाउन खोज्दैछौं।”
यसैबीच, सभामुख देवराज घिमिरे संसद सहज रूपमा सञ्चालन गर्न प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरिरहेका छन्।