काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका छन् कि वर्तमान सरकार द्वन्द्वपीडितलाई न्याय दिने प्रति स्पष्ट र प्रतिबद्ध छ। उनले शान्ति सम्झौतामा आधारित द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा दुईमत नपरेको बताएका छन्।
सङ्क्रमणकालीन न्याय सम्बन्धी सम्मेलनमा सम्बोधन गर्दै देउवाले शान्ति सम्झौताका बाँकी काम पुरा गर्ने र आयोग गठन गर्ने प्रक्रियामा सरकारले अघि बढेको बताए। उनले भने, “सरकारले दुवै आयोगका पदाधिकारी सिफारिस गर्न समिति गठन गरेको छ, जसका कारण आयोग छिट्टै पूर्णता पाउने र पीडितहरूले न्याय पाउनेछन्।”
उनले स्पष्ट रूपमा भने, “पीडितलाई न्याय दिलाउन यो सरकार स्पष्ट छ। पारदर्शी ढंगले सबैको सुझाव र भावना बुझेर न्याय प्रक्रिया अघि बढ्छ। कुनै छलछाम हुनेछैन।”
सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गर्दै विश्वका लागि उदाहरणीय बन्नुपर्नेमा देउवाले जोड दिएका छन्।