काठमाडौंमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाको प्रदर्शन, तीनकुनेमा गणतन्त्रविरोधीहरू सडकमा
काठमाडौंमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाको प्रदर्शन, तीनकुनेमा गणतन्त्रविरोधीहरू सडकमा
    • बेल संचार

    • १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं

गणतन्त्रको पक्षमा रहेका समाजवादी मोर्चामा आबद्ध चार दलले आज काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेका छन्। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा (विप्लव समूह) र नेपाल समाजवादी पार्टी (नेसपा)ले दिउँसो १२ बजेबाट छुट्टाछुट्टै स्थानबाट जुलुस निकाल्न थालेका हुन्।

फरक-फरक स्थानबाट निस्किएको जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ। माओवादी केन्द्रले कुपण्डोल, बबरमहल, त्रिपुरेश्वर र सोर्‍हखुट्टेबाट जुलुस निकाल्दै छ भने नेकपा एकीकृत समाजवादीले डिल्लीबजार र मैतीदेवीबाट जुलुस निकालेको छ। त्यसैगरी, नेकपा (विप्लव समूह)ले सुन्धाराबाट तथा नेसपाले न्युरोड गेटबाट जुलुस निकालेका छन्।

सभा स्थल प्रदर्शनीमार्गमा नजिकिँदै जाँदा मोर्चामा आबद्ध दलका नेता-कार्यकर्ताले प्रदर्शनलाई थप सशक्त बनाएका छन्। प्रदर्शनपछि हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव समूह)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेसपाका अध्यक्ष महिन्द्रराय यादवले सम्बोधन गर्नेछन्।

गणतन्त्रविरोधी समूहले तीनकुनेमा प्रदर्शन
आजै, गणतन्त्रविरोधी पक्षधर समूहले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरिरहेको छ। यसै क्रममा विवादित धर्मगुरु आचार्य श्रीनिवास समेत तीनकुने पुगेका छन्। गणतन्त्रविरोधी समूह र सुरक्षाकर्मीबीच केहीबेर तनाबको स्थिति देखिएको थियो। प्रहरी प्रदर्शनलाई शान्तिपूर्ण बनाउन माइकिङ गरिरहेको छ।

समाजवादी मोर्चाले भने सरकारको कुशासन, बेथिति तथा गणतन्त्रविरोधी शक्तिहरूको गतिविधिविरुद्ध खबरदारी गर्न प्रदर्शन गरेको जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित