विमानस्थल क्षेत्र आसपास राजावादी प्रदर्शनकारीले लगाएको आगोका कारण अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः सुचारु गरिएको छ। तर, उडान तथा अवतरण व्यवस्थापनमा अझै चाप कायम रहेको विमानस्थल स्रोतले जनाएको छ।
शुक्रबार साँझ झन्डै एक घण्टा अवरुद्ध भएको उडान सेवा पुनः सञ्चालन भए पनि जहाजहरूले केही फन्को मारेपछि मात्र अवतरणको पालो पाइरहेका छन्। हवाई यात्रुलाई सुरक्षाकर्मीले परिचय पत्र र टिकटका आधारमा विमानस्थल जान सहजीकरण गरिरहेका छन्।
प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगजनी गरेपछि सुरक्षाको कारण देखाउँदै दिउँसो ४:१३ देखि साँझ ५:३७ बजेसम्म उडान रोकिएको थियो। उनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित मुख्य कार्यालय अगाडि आगो बालेका थिए। आगो विमानस्थल क्षेत्रसम्म फैलिएपछि सुरक्षाका कारण विमानस्थल बन्द गरिएको थियो।