च्याम्पियन्स ट्रफी: समूह चरणमै पाकिस्तान र बंगलादेश बाहिर
च्याम्पियन्स ट्रफी: समूह चरणमै पाकिस्तान र बंगलादेश बाहिर
    • बेल संचार

    • १३ फाल्गुन २०८१, मंगलवार

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा आयोजक पाकिस्तान समूह चरणमै बाहिरिएको छ। सोमबार भएको समूह ‘ए’ को खेलमा न्युजिल्याण्डले बंगलादेशलाई ५ विकेटले हराएपछि पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको हो।

रावलपिण्डीमा भएको खेलमा बंगलादेशले दिएको २३७ रनको लक्ष्य न्युजिल्याण्डले ४६.१ ओभरमै ५ विकेट गुमाएर पूरा गर्‍यो। न्युजिल्याण्डका रचिन रविन्द्रले शानदार शतक प्रहार गरे।

समूह ‘ए’ मा भारत, पाकिस्तान, न्यूजिल्याण्ड र बंगलादेश गरी चार टोली सहभागी छन्। समूह चरणमा प्रत्येक टोलीले ३ खेल खेल्नेछ। भारत र न्युजिल्याण्डले आ–आफ्ना २ खेल जित्दै ४–४ अंक जोडेका छन् र दुवै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। यी दुईबीच हुने अन्तिम खेलले समूह विजेताको टुंगो लगाउनेछ।

पाकिस्तान र बंगलादेश भने लगातार दुई खेल गुमाएर सेमिफाइनल दौडबाट बाहिर भइसकेका छन्। यद्यपि, यी दुई टोली २७ फेब्रुअरीमा आमनेसामने हुनेछन्। यो खेलको नतिजा सेमिफाइनल समीकरणमा असर पार्ने छैन।

समूह ‘ए’ बाट भारत र न्यूजिल्याण्ड अन्तिम चारमा पुगेका छन् भने समूह ‘बी’ मा अष्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तानबीच सेमिफाइनल प्रवेशको प्रतिस्पर्धा जारी छ।

साताकाे चर्चित
सम्बन्धित