रङहरूको पर्व होली : तराई-मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै
रङहरूको पर्व होली : तराई-मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै
    • बेल संचार

    • ३० फाल्गुन २०८१, शुक्रबार

तराई तथा मधेशका जिल्लाहरूमा आज होली पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ। हिमाली तथा पहाडी जिल्लाहरूमा फागुपूर्णिमाका दिन मनाइएको होली पर्व परम्पराअनुसार भोलिपल्ट तराई क्षेत्रमा मनाइन्छ।

आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लाहरूमा होली उल्लासमय वातावरणमा मनाइँदैछ।

रङ र उमङ्गको पर्व होलीलाई सबै प्रकारका भेदभावलाई बिर्सी परस्परमा आत्मीयता साटासाट गर्ने अवसरका रूपमा लिइन्छ। एकअर्कालाई रङ लगाउँदै उल्लासपूर्वक मनाइने यस पर्वले समाजमा सद्भाव र एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिन्छ।

धार्मिक एवं सामाजिक दृष्टिकोणले महत्वपूर्ण मानिने होली पर्वबारे पण्डित बुद्धिसागर भण्डारी भन्छन्, “होली असत्यमाथि सत्यको, छलमाथि निश्छलताको, र अधर्ममाथि धर्मको विजयको प्रतीक हो। यस पर्वले अनेकतामा एकता कायम राख्दै धार्मिक तथा सामाजिक सद्भाव बढाउने भूमिका खेल्दै आएको छ।”

इतिहासविद्हरूका अनुसार, प्राचीनकालमा वसन्तोत्सवका रूपमा मनाइने यो पर्व क्रमशः प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिसँग जोडिँदै फागु, फगुवा, होली, होरी आदि नामले प्रसिद्ध रहिआएको छ। रङ, नाचगान, खानपान, ढोल-नगाडा, मृदङ्ग आदिको धुनसँगै भेदभाव र मनोमालिन्य त्याग्दै भ्रातृत्व बढाउने यस पर्वको सांस्कृतिक गरिमा विशेष छ।

होली पर्वले समाजका सबै वर्ग, जातजाति र धर्मावलम्बीलाई एउटै रङमा रङ्ग्याउने माध्यमको रूपमा कार्य गर्दछ। यो पर्वले प्रेम, भाइचारा, र एकताको भावना जागृत गर्दै नयाँ उमङ्ग सिर्जना गर्ने विश्वास गरिन्छ।

साताकाे चर्चित
सम्बन्धित