मधेशको प्राचीन मिथिलाको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको मिथिला मध्यमा परिक्रमा आज सम्पन्न हुँदैछ। फागुन औँसीका दिन सुरू भएको १५ रात्रिविश्रामको यो यात्रा आज १६औँ दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न गरिँदैछ।
जनकपुरधामको रङ्गभूमि मैदानमा १५औँ दिनको रात्रिविश्राम गरेका परिक्रमार्थीहरूले बिहीबार मध्यरात कटेसँगै पञ्चकोशी परिक्रमा अर्थात् जनकपुरधामको अन्तरगृह परिक्रमा सुरू गरेका छन्। मैथिल परम्पराअनुसार, १५औँ दिनको रात्रिबासपछि १६औँ दिन पञ्चकोशी परिक्रमा गरेपछि मात्र यात्रा सम्पन्न भएको मानिन्छ। यस क्रममा हजारौँ संख्याका श्रद्धालुहरू अन्तरगृह परिक्रमा पथमा सहभागी भएका छन्।
परिक्रमा यात्राको अन्तिम दिन बिहीबार साँझ होलिका दहन गरिएको थियो। परम्पराअनुसार, परिक्रमार्थीहरूले होलिका दहनको खरानी उडाउँदै पवित्र गङ्गासागरमा स्नान गरेर परिक्रमा सम्पन्न गर्ने प्रचलन छ। मिथिलामा ‘धुरा उडाउने’ परम्पराअनुसार, यात्रुहरूले होलिका दहनको खरानी उडाउँदै आफूभित्रको नकारात्मक प्रवृत्ति समाप्त गर्ने कामना गर्दछन्।
मध्यमा परिक्रमा यात्रामा सहभागी हुन नसकेका सर्वसाधारण पनि अन्तिम दिन अन्तरगृह परिक्रमा गर्दै पुण्य प्राप्त गर्ने जनविश्वास रहेको छ। यही कारण महोत्तरी, धनुषालगायत आसपासका जिल्लाबाट हजारौँको संख्यामा श्रद्धालुहरू परिक्रमा यात्रामा सहभागी भएका छन्।
मधेशमा फागुन पूर्णिमा सकिएर चैत कृष्ण प्रतिपदा सुरू हुने दिन होली पर्व मनाउने परम्पराअनुसार आज पर्व मनाउने तयारी छ। तर मिथिला मध्यमा परिक्रमा पथभित्र भने भोलि शनिबार होली मनाइने परम्परा रहेको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त डा. रवीन्द्रदास वैष्णव बताउँछन्।
जनविश्वासअनुसार, त्रेतायुगमा श्रीराम र सीताले मिथिलाका विभिन्न स्थानमा विहार गरेका पदचापहरू पछ्याउँदै १८औँ शताब्दीमा मिथिला मध्यमा परिक्रमा थालिएको मानिन्छ। साथै, यस यात्रासँग सत्ययुगको प्रह्लाद कथा समेत जोडिएको मिथिला लोकपरम्पराका ज्ञाता एवं नेपाली अनुवादक ध्रुव राय बताउँछन्।
प्रह्लादलाई मार्न होलिकाले आगोमा राख्दा आफू खरानी भएकी तर प्रह्लाद सकुशल रहेको कथा फागुपर्वसँग जोडिएको छ। यसरी, मध्यमा यात्रा श्रीराम–सीताको पदचाप पछ्याउने धार्मिक अनुष्ठान हो भने फागुपर्व प्रह्लादको विजय उत्सवका रूपमा मनाइने परम्परा बसेको मैथिल विद्वान्हरू बताउँछन्।