आर्थिक अभावका कारण यस वर्ष गैँडा गणना नहुने
आर्थिक अभावका कारण यस वर्ष गैँडा गणना नहुने
    • बेल संचार

    • ३० फाल्गुन २०८१, शुक्रबार

चितवन ।

हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यस वर्ष नहुने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलका अनुसार दाताहरूको सहयोगमा हुँदै आएको गणना यस वर्ष सहायता नपाएपछि रोकिएको हो। सरकारले गैँडाको नियमित अभिलेख राख्नका लागि बजेटको व्यवस्था गरेको छैन।

महानिर्देशक कँडेलले गणना गर्न नसकिए पनि निकुञ्जका पोष्टमार्फत एक–एक गैँडाको सङ्केतका आधारमा अवस्था पहिचान गरिने बताए। उनका अनुसार निकुञ्जको सम्पूर्ण जनशक्ति परिचालन गरेर सम्भव भएसम्म गैँडाको अवस्थाबारे जानकारी लिने प्रयास हुनेछ। उनले भने, “गणनाजस्तै गरी यकिन सङ्ख्या सार्वजनिक नभए पनि सूक्ष्म रूपमा एक-एक गैँडाको चिह्नको आधारमा अवस्था पत्ता लाग्छ।”

विभागले गैँडा गणनाका लागि विभिन्न दातृ निकायहरूसँग सहकार्य गर्दै आएको थियो। चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा पाइन्छन्। पछिल्लो गणनाले सबैभन्दा बढी गैँडा चितवनमा रहेको देखाएको थियो।

सन् २०२१ मा भएको पछिल्लो गैँडा गणनाअनुसार नेपालमा ७५२ गैँडा छन्। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १८ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैँडा रहेका छन्।

नेपालमा गैँडा सङ्ख्या इतिहास हेर्दा सन् १९५० मा ८०० गैँडा थिए। सन् १९५५ मा ४००, सन् १९६० मा ३००, सन् १९६५ मा १००, सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०, सन् १९९० मा ३५८, सन् १९९५ मा ४६६ गैँडा थिए। त्यस्तै, सन् २००० मा ६१२, सन् २००५ मा ४०९, सन् २०१० मा ४३५, सन् २०१५ मा ६४५ गैँडा रहेका थिए।

गैँडाको संरक्षणका लागि नियमित गणना अत्यावश्यक रहेको विज्ञहरू बताउँछन्।

 

साताकाे चर्चित
सम्बन्धित