म्याग्दी।
मंगला गाउँपालिका–3, सातबिसेमा १० वर्ष अमेरिकामा अध्ययन गरेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती सुरु गरेका छन्। हाल बागलुङमा बसोबास र काठमाडौंमा व्यवसाय गर्दै आएका ३८ वर्षीय सुशील खड्काले आफ्नो पुर्ख्यौली जग्गालाई सदुपयोग गर्दै केराखेती सुरु गरेका हुन्।
मंगला भेञ्चर कम्पनीमार्फत उनले बाँझिन थालेको खेतीयोग्य जमिनलाई उपयोग गरेर कृषि उद्यमबाट गाउँमै आम्दानी र रोजगारीको अवसर सिर्जना गर्ने प्रयास गरेका छन्।
“हाम्रा पुर्खाले दुई सय वर्षअघि धानखेती गर्न किनेको सातबिसेको उर्वरायुक्त जग्गा बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बाँझिन थालेपछि दुई वर्षअघि केरा रोप्दा धेरैले मलाई हाँसोको पात्र बनाए,” खड्काले भने, “जग्गा बाँझो नहोस् भनेर सुरु गरेको केराखेती राम्रो हुन थालेपछि अरूले पनि सिको गर्न थालेकामा खुसी लागेको छ।”
अमेरिकाको भेन्डरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवसाय विषयमा स्नाकोत्तर तथा इन्जिनियरिङमा स्नातक गरेका खड्काले काठमाडौंमा श्रीमती सिलसिलासँगै नकुहिने फोहर प्रशोधन गर्ने कम्पनी पनि सञ्चालन गरेका छन्।
सातबिसेमा खड्काको एक सय रोपनी पुर्ख्यौली जग्गा छ। उनका जिजुबाजेले दुई सय वर्षअघि बागलुङबाट आएर सातबिसेमा जग्गा खरिद गरेका थिए। सातवटा २० रुपैयाँमा खरिद गरिएको जग्गाका कारण यो ठाउँको नाम ‘सातबिसे’ नामकरण गरिएको किंवदन्ती छ। खेतमा पाक्ने गौरिया धान र सिँचाइ सुविधाका कारण उनका पुर्खाले यहाँ बसोबास सुरु गरेका थिए।
सन् २००५ मा अध्ययनका लागि अमेरिका गएका सुशील सन् २०१५ मा नेपाल फर्किएका थिए। कोरोना महामारीका कारण भएको बन्दाबन्दीका समयमा उनलाई पुर्ख्यौली जग्गामा कृषि उद्यम सञ्चालन गर्ने सोच पलाएको थियो।
तीन रोपनीमा १५० बोट हजारी जातको केराबाट उद्यम सुरु गरेका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरुवा रोपेर विस्तार गरेका छन्। केरा बगैँचाको रेखदेखमा आमा मनकुमारीले सघाइरहेकी छन्।
केरा बेचेर पछिल्लो एक वर्षमा एक लाख आम्दानी गरेका खड्का अब ड्रागन फ्रुटको खेती गर्ने तयारीमा छन्।
आधुनिक उपकरणको प्रयोग गरेर कम लागतमा रैथाने गौरिया जातको धानखेतीलाई निरन्तरता दिने र विदेशबाट फर्किएका तथा गाउँमै भएका बेरोजगार युवाको समूह बनाएर कृषि उद्यम सञ्चालन गर्ने उनको योजना छ।
“देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र परम्परागत बालीको संरक्षणसँगै प्रवर्द्धन गर्ने मेरो उद्देश्य हो,” खड्काले भने, “जलवायु र मौसममा आएको परिवर्तनको सामना गर्न सक्ने क्षमता भएका परम्परागत बालीलाई जोगाउनु हाम्रो दायित्व र जिम्मेवारी हो।”