टाइम म्यागेजिनको सूचीमा नेपाल: सामुदायिक होमस्टे नेटवर्क (CHN) विश्वका उत्कृष्ट गन्तव्यहरूमा
टाइम म्यागेजिनको सूचीमा नेपाल: सामुदायिक होमस्टे नेटवर्क (CHN) विश्वका उत्कृष्ट गन्तव्यहरूमा
    • बेल संचार

    • ३० फाल्गुन २०८१, शुक्रबार

विश्वकै प्रतिष्ठित प्रकाशन  टाइम म्यागेजिनले २०२५ मा घुम्नका लागि उत्कृष्ट १०० ठाउँहरूको सूची सार्वजनिक गरेको छ। यस सूचीमा नेपालबाट सामुदायिक होमस्टे नेटवर्क (CHN) लाई समेटिएको छ। एल साल्भाडोरदेखि भारतको जयपुर र जिम्बाबेसम्मका विविध गन्तव्य समेटिएको सूचीमा नेपालका ग्रामीण भेगमा आधारित यो अनौठो अनुभवलाई विशेष मान्यता दिइएको छ।

सामुदायिक होमस्टे नेटवर्क (CHN) को विशेषता स्थानीय समुदायमा घुलमिल हुने अवसर हो। विदेशी तथा स्वदेशी पर्यटकहरूलाई गाउँका परिवारसँग बस्ने, उनीहरूको संस्कार-संस्कृति बुझ्ने र प्राकृतिक सौन्दर्यमा रमाउने अनुभव दिन यसले महत्वपूर्ण भूमिका खेलेको छ।

सीएचएन, रोयल माउन्टेन ट्राभलको भगिनी संस्था हो, जसले २०१२ मा पनौतीबाट होमस्टे सेवा सुरु गरेको थियो। हालसम्म यस नेटवर्कले नेपालभर १८ वटा समुदायमा २०० भन्दा बढी होमस्टे सञ्चालन गरिसकेको छ।

स्थानीय अर्थतन्त्र प्रवर्द्धन र सांस्कृतिक संरक्षणमा योगदान गर्दै सीएचएनले आगन्तुकहरूलाई नेपाल घुम्न आकर्षित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साथै, स्थानीय सरकारहरूसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएको छ।

सामुदायिक होमस्टेमा एक रात बिताउनु भनेको न केवल नयाँ ठाउँको अनुभव लिनु मात्र हो, तर स्थानीय समुदायसँग जीवनभरको मित्रता गाँस्नु पनि हो। गाउँको हरियाली, शान्त वातावरण र मैत्रीपूर्ण आतिथ्यले पर्यटकहरूलाई विशेष अनुभव प्रदान गर्छ।

टाइम म्यागेजिनको यो सूचीले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने अपेक्षा गरिएको छ।

 

साताकाे चर्चित
सम्बन्धित