पोखरा।
चीनको छेन्दुबाट १२८ चिनियाँ पर्यटक लिएर सिचुवान एयरलाइन्स को विमान सोमबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। पोखरा–छेन्दु रुटमा आजदेखि सुरु भएको नियमित व्यावसायिक चार्टर उडान अन्तर्गत यो पहिलो उडान हो।
नेपालस्थित चिनियाँ दूतावास का अनुसार, सिचुवान एयरलाइन्सले १२८ यात्रु लिएर पोखरा आएको छ र सोही जहाजमार्फत १२० भन्दा बढी यात्रु लिएर चीन फर्किनेछ।
“छेन्दुबाट पहिलो नियमित व्यावसायिक चार्टर उडान भर्खरै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। चाँडै नै १२० भन्दा बढी यात्रुहरूलाई चीन लैजानेछ,” दूतावासले जनाएको छ।
यस उडानलाई नेपाल–चीन पर्यटन प्रवर्द्धनका हिसाबले महत्वपूर्ण मानिएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रमको नेतृत्व गर्नेछन्।
पोखरा महानगरपालिकाले सन् २०२५ लाई भ्रमण वर्ष घोषणा गर्दै पर्यटक आकर्षित गर्न विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। यो चार्टर उडानले दुई देशबीचको पर्यटन र सांस्कृतिक आदान-प्रदानलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।