प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा सडक पूर्वाधार विस्तार गर्न महाकाली कोरिडोरमार्फत निर्माण कार्य तीव्र रूपमा भइरहेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसद बिनिता कठायतको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडकका लागि दार्चुलादेखि तुषारपानीसम्म ४३ किलोमिटर सडक खण्ड निर्माण भइरहेको जानकारी दिए।
उनका अनुसार तुषारपानीदेखि टिङ्कर नाकासम्म करिब ७९ किलोमिटर सडकमा नेपाली सेनामार्फत काम भइरहेको छ। “हालसम्म करिब १२ किलोमिटर ‘ट्रयाक’ खन्ने काम सम्पन्न भइसकेको छ, बाँकी खण्डको काम पनि छिट्टै सम्पन्न हुनेछ,” प्रधानमन्त्री ओलीले बताए।
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउन सरकार प्रतिबद्ध रहेको बताए। उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत विशेष स्वास्थ्य सेवा प्रवाह गर्ने प्रयास भइरहेको उल्लेख गरे।
सांसद विमला सुवेदीको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो टुङ्ग्याउन सरकार गम्भीर रहेको बताए।
उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तथा सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया छिट्टै सुरु गर्ने जानकारी गराए। “द्वन्द्वकालमा पीडित भएका व्यक्तिहरूले छिटो न्याय पाउनुपर्छ भन्नेमा सरकार संवेदनशील छ,” उनले भने।
प्रधानमन्त्री ओलीका अनुसार, सरोकारवालासँगको परामर्शमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को तेस्रो संशोधन भइसकेको छ।
सरकारले शान्ति प्रक्रिया टुङ्ग्याउन, पूर्वाधार विकासलाई तीव्रता दिन र नागरिकका मौलिक आवश्यकताहरू पूरा गर्न निरन्तर प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले संसदलाई जानकारी गराए।