प्रतिनिधि सभा चुनावबारे सत्ता गठबन्धनमा छलफल थालिएकै बेला निर्वाचन आयोगले पनि आन्तरिक छलफल थालेको छ । आयोगले सकेसम्म एकै चरणमा चुनाव गर्नेगरी आन्तरिक गृहकार्य थालेको हो । गठबन्धनका दलहरुबीच कात्तिक अन्तिम साता या मंसिर दोस्रो साताभित्र चुनाव गर्नेगरी छलफल भइरहेको छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस भित्रपनि चुनावको मितिबारे छलफल चलिरहेको छ ।
नयाँ संविधान जारी भएपछि २०७४ सालको मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो । हिमाली जिल्लामा मंसिर १० र पहाडी जिल्लामा मंसिर २१ गते चुनाव भएको थियो । मंसिर १५ पछि हिमाली जिल्लामा हिउँ पर्न शुरु हुने भएकाले त्यस अगावै चुनाव गराउने सरकारको योजना रहेको नेताहरु बताउछन् ।
चुनावको मितिबारे एउटा टुंगोमा पुगेपछि सरकारसँग प्रस्ताव गरिने थपलियाले बताए । गठबन्धन दलहरुबीच कात्तिकको अन्तिम साता नै चुनाव गर्नेबारे छलफल चलिरहेको छ । ‘यसवर्ष चाडबाडको समय पहिलै भएकोले कात्तिकमै चुनाव गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ’ नेपाली कांग्रेसका एक पदाधिकारीले लोकान्तरसँग भने ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आवधिक निर्वाचन मंसिरमै हुनुपर्ने बताउँदै आएको छ । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०७९÷८० को बजेट पारित गरेलगत्तै सरकारले चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ ।