चुनावको मितिबारे आयोग आन्तरिक छलफलमा
चुनावको मितिबारे आयोग आन्तरिक छलफलमा
    • Bell Sanchar

    • १८ जेष्ठ २०७९, बुधबार

प्रतिनिधि सभा चुनावबारे सत्ता गठबन्धनमा छलफल थालिएकै बेला निर्वाचन आयोगले पनि आन्तरिक छलफल थालेको छ । आयोगले सकेसम्म एकै चरणमा चुनाव गर्नेगरी आन्तरिक गृहकार्य थालेको हो । गठबन्धनका दलहरुबीच कात्तिक अन्तिम साता या मंसिर दोस्रो साताभित्र चुनाव गर्नेगरी छलफल भइरहेको छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस भित्रपनि चुनावको मितिबारे छलफल चलिरहेको छ ।

सरकारसँग औपचारिक प्रस्ताव गर्नुअघि निर्वाचन आयोग मितिबारे आन्तरिक छलफलमा जुटेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले चुनावको मितिबारे गृहकार्य भइरहेको बताए । स्थानीय तहको चुनाव एकै चरणमा सम्पन्न भएकोले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि एकै चरणमा गर्न आयोग सक्षम रहेको उनले बताए ।
‘सरकारले सुरक्षाको भरपर्दो प्रवन्ध गरेमा एकै चरणमा चुनाव गर्नेगरी आयोगले आन्तरिक छलफल गरिरहेको छ’ थपलियाले लोकान्तरसँग भने, ‘स्थानीय तहको चुनावको जस्तो सुरक्षाले पुग्दैन ।’ थपलियाले मंसिर १५ अगावै चुनाव गर्न आयोग तयार रहेको उल्लेख गरे ।

नयाँ संविधान जारी भएपछि २०७४ सालको मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो । हिमाली जिल्लामा मंसिर १० र पहाडी जिल्लामा मंसिर २१ गते चुनाव भएको थियो । मंसिर १५ पछि हिमाली जिल्लामा हिउँ पर्न शुरु हुने भएकाले त्यस अगावै चुनाव गराउने सरकारको योजना रहेको नेताहरु बताउछन् ।

चुनावको मितिबारे एउटा टुंगोमा पुगेपछि सरकारसँग प्रस्ताव गरिने थपलियाले बताए । गठबन्धन दलहरुबीच कात्तिकको अन्तिम साता नै चुनाव गर्नेबारे छलफल चलिरहेको छ । ‘यसवर्ष चाडबाडको समय पहिलै भएकोले कात्तिकमै चुनाव गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ’ नेपाली कांग्रेसका एक पदाधिकारीले लोकान्तरसँग भने ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आवधिक निर्वाचन मंसिरमै हुनुपर्ने बताउँदै आएको छ । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०७९÷८० को बजेट पारित गरेलगत्तै सरकारले चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ ।

 

साताकाे चर्चित
सम्बन्धित