काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान, बालबालिकासम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्थाहरू कार्यान्वयन गर्न/गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोत साधनको विकास गरी क्रियाशील बनाउनुपर्ने उनको भनाइ छ ।
दिवसका अवसरमा उनले सम्पूर्ण बालबालिकाहरूमा उज्जवल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।
‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका आज देशभर ५९औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ ।