माओवादीको निर्देशन, २०७९ निर्वाचन वर्ष हुने भएकाले तयारी बस्न नेता कार्यकर्तालाई
माओवादीको निर्देशन, २०७९ निर्वाचन वर्ष हुने भएकाले तयारी बस्न नेता कार्यकर्तालाई
    • Bell Sanchar

    • १० माघ २०७८, सोमबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी वर्ष २०७९ निर्वाचन वर्ष हुने भन्दै त्यसका निम्ति पार्टी पंक्तिलाई आवश्यक अध्ययन, विश्लेषण र योजना निर्माणको कार्यका पहल सुरु गर्न निर्देशन दिएका छन् ।

अध्यक्ष ‘प्रचण्ड’ ले शनिबार आन्तरिक परिपत्र जारी गर्दै कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । उनले रोकिएको केन्द्रीय कमिटी बैठक माघ २७ बाट काठमाडौंमा बस्ने र सोही बैठकले पदाधिकारी चयन लगायतका निर्णय गर्ने पनि जनाएका छन् ।

पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष बाहेकका पदाधिकारी चयन गर्न पुस २५ र माघ ८ मा बोलाएको केन्द्रीय समिति बैठक कोरोनाका कारण बस्न सकेको थिएन । अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा सोही मितिमा बस्ने बैठकले केन्द्रीय कमिटीको पूर्णता, पोलिटब्युरो र स्थायी समितिको गठनका साथै पदाधिकारीको निर्वाचन गर्ने उल्लेख छ ।

प्रचण्डको परिपत्रमा सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्यविभाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्ने र अन्य आवश्यक निर्णय लिने उल्लेख छ ।

साथै केन्द्रीय समितिको उक्त बैठकबाट अर्को निर्णय नभएसम्मका लागि यसअघिका सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय एवं मोर्चा संगठनहरूको इन्चार्जहरुलाई नै यथावत जिम्मेवारी दिने बताएको छ ।

प्रचण्डले माघ १२ मा हुने राष्ट्रियसभा निर्वाचनमा ५ दलीय गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन समन्वयात्मक ढंगले पार्टी नेता कार्यकर्ताहरुलाई निर्देशन पनि दिएका छन् ।

साताकाे चर्चित
सम्बन्धित