सिन्धुपाल्चोकका जुगल गाउँपालिका–२ गोल्चेका रामहरि सिलवालले आफ्ना बुवा आमालाई पनौती त्रिवेणी घाटस्थित बाह्रवर्षे मकर मेलामा स्नान गराए । बाह्र वर्षमा एकपटक लाग्ने मेलामा स्नान गर्दा मनोकांक्षा पूरा हुने र पुण्य मिल्ने जनविश्वास रहेकाले स्नान गर्न ल्याएको उनले बताए ।
सोही ठाउँका अर्का मानबहादुर सिलवालले धर्म गरेर केही मिल्छ कि भन्ने मनोकाङ्क्षासाथ मकर स्नान गर्न आएको बताए । “दहमा डुबुल्की मारेर गरेको स्नानले पक्कै पनि केही मिल्नेछ”, उनले भने । कोरोना सङ्क्रमणको जोखिम भए पनि स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णरूपमा पालना गरेरै स्नान गर्न आएको उनको भनाइ छ । उनीहरुसँगै सोही ठाउँका अन्य १२ जनाले मकर स्नान गरेर फर्किएका छन् ।