प्रथम नागार्जुन रानीपाटी महोत्सव हुने
प्रथम नागार्जुन रानीपाटी महोत्सव हुने
    • Bell Sanchar

    • १४ चैत्र २०७८, सोमबार

नयाँ वर्ष २०७९ को अवसरमा आगामी २८ चैतबाट काठमाडौको नागार्जुन नगरपालिका– ४ रानीटार सितापाइलामा ‘प्रथम नागार्जुन रानीपाटी महोत्सव’ हुने भएको छ ।

नागार्जुन नगरपालिका भित्रका स्थानीय कला, संस्कृति र उत्पादनको प्रवद्र्धन, ऐतिहासिक संम्पदाको प्रचार प्रसार तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेस्यकासाथ १७ दिनसम्म आयोजना हुने सो महोत्सव आगामी १५ बैशाखसम्म चल्ने छ । रानीपाटी टोल सुधार समिति र नागार्जुन नगरपालिकाको संयुक्त आयोजनामा हुने सो महोत्सवमा एकसय भन्दाबढीको स्टलहरु हुने छन भने दैनिक राष्ट्रिय चर्चित कलाकारहरुद्धार बेजोड साँगितिक प्रस्तुती हुने छ ।

यस महोत्सवको विशेष सहयोगी आयोजक संस्थामा नेपाल मेला महोत्सव संघ केन्द्रिय कार्यालय काडमाडौ रहेको छ । महोत्सवको तयारीबारे जानकारि दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रथम नागार्जुन रानीपाटी महोत्सव आयोजक समितिका संयोजक शेखर श्रेष्ठले यहाँका स्थानीय टोलवासी र व्यवसायीहरुको सक्रियता र नगरपालिकाको सहकार्यमा पहिलोपटक यो महोत्सव आयोजना गर्न लागेको बताए । उनले यो महोत्सव निकै आकर्षक हुने बताए ।

समितिका कोषाध्यक्ष अनिल ताम्राकारले १७ दिनसम्म चल्ने यस महोत्सव सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।

उनले यो महोत्सवमा लाग्ने खर्च नागार्जुन नगरपालिका, स्थानीय व्यवसायी र टोलबासीबाट जुटाइने जानकारि दिए । महोत्सवको तयारीबारे जानकारि दिन आयोजित पत्रकार सम्मेलनमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले स्थानीय रानीपाटी टोलसुधार समितिको सक्रियतामा हुन लागेको यो महोत्सव स्थानीय उत्पादन र यहाँका परम्परागत ऐतिहासिक साँस्कृतिक धरोहरको प्रवद्र्धन र प्रचार प्रसारमा निकै उपयोगी र फलदायी हुने अपेक्षा गरिएको बताए ।

उनले विशेषगरि यहाँका स्थानीय नेवार समुदायको पुरानो संस्कृति तथा झाँकी प्रदर्शन यो महोत्सवको मुख्य आकर्षण हुने जानकारि गराए । यो महोत्सवलाई यस नगरपालिकाले राम्रो आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै मेयर बस्नेतले भने, ‘ म निर्वाचत भएर आएपछि यो नगरपालिकामा धेरै पूर्वाधार विकासका काम सम्पन्न भएका छन ।

’ उनले अहिले यस नगरपालिका भित्र ७ खर्ब रुपैयाँ लगानीमा एसियाकै पहिलो सबैभन्दा अग्लो राधा कृष्ण मन्दिर निर्माण हुन लागेको समेत जानकारि गराए । उनले काठमाडौ उपत्यकाभित्रका अन्य नगरपालिकाहरु भन्दा यो नगरपालिका पर्यटकीय, वातावरणीय र औद्योगीक क्षेत्रले सबैभन्दा उत्कृष्ट भइसकेको दावी गरे ।

 

साताकाे चर्चित
सम्बन्धित