दशकदेखि थबाङीको उपचारमा खटिरहेका जापानी डाक्टर इशिदा भन्छन्- सेवा गर्दा गर्दै यही मर्ने इच्छा छ
दशकदेखि थबाङीको उपचारमा खटिरहेका जापानी डाक्टर इशिदा भन्छन्- सेवा गर्दा गर्दै यही मर्ने इच्छा छ
    • Bell Sanchar

    • २६ चैत्र २०७८, शनिबार

मध्यपश्चिमको दुर्गम पहाडी गाउँ। स्वास्थ्य सेवाको पहुँच नपुगेको र नेपाली चिकित्सक जान हिच्किचाउने ठाउँ। अर्थात् माओवादी जनयुद्वको उद्गमथलो थबाङ। रोल्पाको थबाङमा एक दशकभन्दा लामो समयदेखि स्वयंसेवा गरिरहेका जापानी चिकित्सक हुन्–डा. रियुचिकी इशिदा।

उनको नेपाल प्रेम पुरानै हो। सन् १९६८ मा २० वर्षको लक्का जवान हुँदा एक जापानी डाक्टर पहिलो पटक नेपाल घुम्न आएका थिए। त्यसवेला उनी विद्यार्थी स्वयंसेवकको हैसियतमा क्षयरोग विरूद्धको खोप कार्यक्रममा नेपालको विभिन्न गाउँमा सहभागी भए। पोखराबाट कालीको किनारै किनार बेनी, बागलुङ भएर तानसेनसम्म हिँडेका थिए। युनाइटेड मिसन हस्पिटलको खोप कार्यक्रममा ५ दिन लगातार हिँडेका थिए।

१६ वर्षअघि सन् २००६ मा पनि रूकुमको चौरजहारीदेखि रोल्पाको घोरनेटिसम्म स्वास्थ्य सेवाका लागि हिँडेरै पुगे। सन् २००८ मा जुम्ला पनि पुगे र सन् २०११ मा थबाङ टेके। नेपालका कुना कन्दरामा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई नजिकबाट नियाले, घुलमिल भए। नेपालीको सरल जीवनशैली, सहनशील स्वाभाव र आत्मीय बानीले उनको मन छोयो।

पहिलोपटक किशोर उमेरमा आउँदै उनले निर्णय गरेका थिए, भविश्यमा फर्केर म गाउँलेको सेवामा आउनेछु।

‘त्यस बेला मैले गाउँका मानिसलाई फर्केर स्वास्थ्य सेवामा समर्पित हुने वाचा गरेको थिएँ,’ मन्द मुस्कुराउँदै उनले सेतोपाटीसँग आफ्ना विगत सम्झिए।

 

विगत एक दशकदेखि जलजला अस्पताल तथा अनुसन्धान केन्द्र, थबाङमा सक्रिय छन्। थबाङबासी उनलाई मेडिकल मसिहाका रूपमा सम्मान गर्छन्।

उमेरले ७४ वर्ष टेकेका इशिदा थबाङको स्वास्थ्य सेवामा समर्पित भएको विगत एक दशक बढि समय भैसक्यो। वर्षका केही महिना उनी मातृभूमि जापान जान्छन्। परिवार भेटेर फेरि रोल्पा फर्कन्छन्।

गत वर्ष कोभिड महामारीका बीचमा श्रीमतिसहित नेपाल आएका थिए। करिब २ महिनाजति थबाङमा बसेर श्रीमति पुर्‍याउन जापान गएर एक्लै फर्किए।

दुर्गम गाउँ थबाङमा उनले आफ्ना छोराछोरीलाई पनि घुमाइसकेका छन्। ‘म कस्तो ठाउँमा बस्छु, के खान्छु र के गर्छु भन्ने देखाएँ’, उनीहरूलाई घुमाउनुको कारण उनले सुनाए।

 

थबाङप्रतिको उनको अगाध लगाबप्रति परिवारको मौन समर्थन छ तर बुढ्यौलीले गाँजिसकेकाले उनीहरू सँगै बस्न पाए हुन्थ्यो भन्छन्।

विकशित देश जापानमा जन्मेर पनि थबाङप्रतिको उनले देखाएको मायाले सबैलाई अचम्मित बनाउँछ। गाउँलेको सेवामा उनको योगदान अनुकरणीय छ। अझ भनौं, आधुनिक जीवनशैली सिको गर्दै हामी गाउँ छाडेर सहर पस्छौं, पढेलेखेका विद्वानहरू त झन तेस्रो देशतिर पलायान हुने क्रम दिनानुदिन बढिरहेको छ।  तर डाक्टर इशिदाको तन र मन थबाङमै छ।

उनको कामको कदर हुन थालेको छ। गत असोज ३ गते लुम्बिनी प्रदेश सरकारले उनको कामको कदर गर्दै ‘समासेवा श्री पदक ‘ख’ बाट विभुषित गरेको छ।

पदक पाउँदा उनले प्रफुल्ल हुँदै भनेका थिए, ‘सर्वप्रथम म थबाङ गाउँपालिका र जनताले गरेको सहयोगप्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु, जस बिना यो पुरस्कार सम्भव थिएन।’

 

पदक पाउँदा भावुक हुँदै उनले थबाङी र स्वास्थ्यकर्मी सहिद लाली रोका मगरलाई सम्झिएका थिए।

‘सुरूसुरूमा उहाँ १२ घण्टा विरामीको सेवामा खट्नुहुन्थ्यो,’ थबाङका स्वास्थ्य ईन्चार्ज राजकुमार बुढाले भने, ‘आपतकालीन विरामीको सेवा रातदिन खट्नु हुन्थ्यो। अचेल भने जटिल बिरामीबाहेक अरूका लागि हामी दुःख दिँदैनौं।’

पोहोर श्रीमतीसँगै थबाङ पुग्दा भावुक बनेका थिए। श्रीमतीलाई इशिदाले आफ्नो जीवनका अन्तिम दिनको महत्वपूर्ण कुरा बताएका थिए।

‘मेरो मृत्युपछि म थबाङको डाँडामा आराम गर्न चाहान्छु,’ उनले थबाङ पारी शहिद पार्क देखाउँदै श्रीमतीलाई भनेका थिए, ‘त्यहाँ सहिदहरूसँग मेरो पार्थिव शरीरको अन्तेष्टि होस् भन्ने चाहना छ।’

श्रीमतीसँग डाक्टर इशिदा

उनले त्यही डाँडाबाट थबाङ गाउँलाई हरेक दिन हेर्न र तल झकिबाङमा बनेको १५ शैय्याको अस्पताललाई अभिवावकको रूपमा सदैव निगरानी गरिरहने इच्छा सुनाए।

डा.इशिदाका कुराले उनकी श्रीमती भावुक भइन्। जीवनको उतरार्धमा थबाङमा रहे पनि उनको मरण र अन्तेष्टि मातृभूमि जापानमै होस् भन्ने परिवारको चाहना थियो। त्यसैले उनकी श्रीमतीले भारी मनले मौन सहमती जनाइन्।

छोरा–छोरीसँगको छलफल र सल्लाहअनुसार उनको शरीर थबाङमै राखे पनि अस्तु भने उनका पुर्खाहरुसँग पुनर्मिलन गराउन जापानको चिहानमा राखिने तय भएको छ।

‘थबाङको डाँडामा आराम मर्न चहान्छु’

 

डा. इशिदाको उमेरले नेटो काटिसेको छ तर उनको जोस जाँगर भने त्यही २० वर्षे तन्नेरी जस्तो देखिन्छ। उनी थबाङलगायत वरीपरीको जनताको सेवामा सदैव समर्पित छन् र थाकेका पनि छैनन्।

यस क्षेत्रमा जलजला अस्पताल तथा अनुसन्धान केन्द्रले उत्कृष्ट स्वास्थ्य सेवा दिईरहेको छ। थबाङ गाउँपालिकालगायत छिमेकी पुथा उत्तरगंगा, भूमे, मादी र परिवर्तन गाउँपालिकाबाट दैनिक उपचारका लागि बिरामीहरू आउने गरेको थबाङ गाउँपालिकाका स्वास्थ्य प्रमुख टुकवहादुर पुनले जानकारी दिए।

अन्तरमुखी स्वभावका इशिदा निकै सरल छन्। नरम बोल्छन्। बिरामीसँग फाट्टफुट्ट नेपाली र मगर खाम भाषामा कुराकानी गर्छन्। सामान्य नेपाली खानपिनमा रमाउँछन्। र अस्पतालकै टिनको टहराको एक छेउको साँघुरो कोठामा सुत्छन्। बिहान–बेलुका एक घण्टा जति थबाङ गाउँ चक्कर लगाउँछन्। अनि दिनभर  विरामीको सेवामा चुपचाप खटिरहन्छन्।

यी डाक्टरको दिनचर्या थबाङमा यसरी नै बितिरहेको छ।

 

उनको भिसा छिट्टै सकिँदैछ, नविकरणको प्रक्रियामा छ। ‘अब दुई महिनापछि परिवार भेटघाट गर्न जापान जाँदैछु। छोटो बसाईपछि पुनः फर्किन्छु र थबाङमा बिमारीको सेवा गर्नेछु,’ उनले सेतोपाटीसँग भने।

वर्षभरी उनी उपचार गर्छन्। तर प्रत्येक वर्ष भिसाको प्रक्रियाले उनलाई सधै सताउँछ। भिसाबारे सोच्दा एकछिन घोत्लिन्छन्, सायद उही झन्झटिलो  र लामो प्रक्रिया सम्झेर होला!

उनलाई चिन्ता भने अर्कै छ। एकछिन टोलाएपछि उनले भने, ‘काठमाडौंमा उपचार्थ ३ जना विमारीको अवस्था कस्तो भयो होला, कुन्नी।’

ती तीन जना बिरामीलाई उनी आफैंले खर्च दिएर थप उपचारका लागि काठमाडौं पठाएका थिए। फिस्ति रोकालाई रू. ४५ हजार सहयोग गरेर पाटन हस्पिटल, खुट्टा भाँचिएको उपेन्द्र झाँक्रीलाई ७० हजार दिएर ट्रमा सेन्टर र क्यान्सर विमारी पल्मान खड्कालाई १ लाख ५ हजार दिएर सिभिल हस्पिटलमा पठाएका छन्।

उनी त्यही ३ जनाको अवस्थावारे चिन्तित देखिन्थे। उनीहरू निको भएर छिट्टै गाउँ फर्किने आशामा छन् उनी। निःशुल्क स्वास्थ्य सेवा दिइरहेका यी मनकारी डाक्टरले यस्ता धेरै बिरामीलाई निजी खर्च दिएर अन्यत्र रिफर गरेका छन्। उपचार गराएका छन्।

डा. इशिदाले थबाङ गाउपालिकाका एक एमविविएस, हेल्थ एसिस्टेन्ट, र डेन्टल हाइजिनिस्ट अध्ययनका लागि समेत आर्थिक सहयोग गरेका छन्।

जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थबाङ (साविकको स्वास्थ्य चौकी थबाङ र जलजला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र) समायोजन गरेर स्थानीय तह थबाङ गाउँपालिका अन्तर्गत १५ शैय्याको हस्पिटल निर्माणधिन अवस्थामा छ।

यस हस्पिटलको सुरूवातमा स्थापना, निर्माण र सञ्चालनमा थबाङी जनताको पसिनासँगै उनको मिहेनत, त्याग र करोडौं आर्थिक सहयोग मिसिएको छ। अहिले यो हस्पिटल जिल्लाकै नमुना र उदाहरणीय बन्न सफल भएको छ।

नेपाल सरकारले ‘सम्मानार्थ नागरिक’ द्वारा पुरस्कृत किन नगर्ने

 

उनी हाल नेपालमा कार्य अनुमति भिसामा बस्छन् र प्रत्येक वर्ष भिसा नविकरण गर्नुपर्छ। थबाङ गाउँपालिकाका स्वास्थ्य ईन्चार्ज तुलवहादुर पुनकाअनुसार नेपालको भिसा नविकरण प्रकृया निकै झन्झटिलो र महिना दिन लामो रहेको छ।

प्रत्येक वर्ष भिसा नविकरण गर्दा विज्ञापन निकाल्नदेखि, भिसाको लागि सम्वन्धित मन्त्रालयको सिफारिस, गृह मन्त्रालयको कार्यसहमति, श्रम विभागको श्रम स्विकृति, करार सम्झौता वा नियुक्तिको पत्रलगायत आवश्यक कागजात पेश गर्नुपर्छ।

उनको वसाईमा थबाङ गाउँपालिकाले पुरा सहयोग गरेको पालिका अध्यक्ष वीर वहादुर घर्ति बताउँछन्। ‘स्थानीय सरकारबाट हुने सहयोग पुर्ण रूपले गरेका छौ, केन्द्र तहमा उनको भिसा सहजिकरण नेपाल सरकारले गरिदिए हुन्थ्यो,’ उनले सरकारलाई अनुरोध गरे।

नेपालमा दशकौंदेखि ग्रामीण गाउँ जहाँ सरकारको पहुँच नभएको र नेपाली चिकित्सकसमेत जान हिच्किचाउने दुर्गममा निःशुल्क (स्वयंसेवक) को रुपमा खटिरहने व्यक्तिलाई सरकारको परिस्कृत गर्न ढिलाई गर्न हुँदैन।

नेपालको नागरिकता नियमावली, २०६३ को दफा ८ को उपनियम ५ र ६ अनुसार नेपाल सरकारले चाहेमा विदेशी नागरिकलाई नेपालको सम्मानार्थ नागरिकता प्रदान गर्ने अधिकार मन्त्रिपरिषद्लाई रहेको नियम छ।

 

(५) ऐनको दफा ६ बमोजिम प्रदान गरिने सम्मानार्थ नेपालको नागरिकता प्रदान गर्ने अधिकार नेपाल सरकारको मन्त्रिपरिषद्लाई हुनेछ।

‘डा. इशिदाको ऋण त हामीले यो जुनीमा कहिल्यै तिर्न सक्दैनौं। तर नेपाल सरकारले चाहेमा डा. इशिदा जस्तो स्वास्थ्य समाजसेवीको त्याग, तपस्या र नेपालप्रतिको सद्भावको मूल्यांकन गर्दै ‘सम्मानार्थ नागरिक’ प्रदान गर्ने अधिकार भने पक्कै छ।

उनको निश्वार्थ योगदानको कदर गर्दै उनी जिवित छँदै सम्मानार्थ नागरिकबाट पुरस्कृत गर्ने मौका किन चुकाउने?’, थबाङ गाउँपालिकाका अध्यक्ष वीर वहादुर घर्तिले भने।

थबाङ गाउँपालिका अध्यक्ष वीर बहादुर घर्ती मगर

यसो गर्न सके उनको समाजसेवाको उच्च सम्मान हुने थियो, उनको योगदानको कदर हुने थियो।

थबाङी जनताले बेलैमा उनको सामाजिक कार्यबारे सरकारले उचित पहिचान गरि थबाङको डाडाँमा गर्वको साथ आराम गर्ने उनको अन्तिम इच्छा पुरा होस् भन्ने चाहन्छन्।

जापानको सुखसयल त्यागेर रोल्पालीको सेवामा जुटेका उनलाई रोल्पाली ‘भगवान’  मान्छन्।

कुराकानीको अन्तिममा उनले हामीलाई पनि आफ्नो इच्छा सुनाए, ‘म पनि यही थबाङको पहाडमा सुतिरहेका सहिदहरूसँगै सधैंका लागि सुत्न चाहान्छु। यति भएमा मेरो आत्माले शान्ति पाउनेछ।’

साताकाे चर्चित
सम्बन्धित