अखिल क्रान्तिकारीले तोक्यो स्ववियू चुनावका लागि कमाण्डर
अखिल क्रान्तिकारीले तोक्यो स्ववियू चुनावका लागि कमाण्डर
    • Bell Sanchar

    • १२ माघ २०७९, बिहीबार

काठमाडौं। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) चुनाव लक्षित कार्यविभाजन गरेको छ।

अखिल क्रान्तिकारीको तेस्रो पदाधिकारी बैठकले बिना गठबन्धन स्ववियू चुनाव लड्ने निर्णय गर्दै कार्यविभाजन गरेको हो ।

आगामी ५ चैतमा हुने स्ववियू चुनावका लागि सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । यसअघि प्रदेश ईन्चार्जहरु उपाध्यक्षहरुबाट पठाउने कि सचिवहरुबाट पठाउने भन्नेमा विवाद हुँदा सम्मेलन भएको लामो समयसम्म कार्यविभाजन भएको थिएन ।

पदाधिकारी बैठकबारे निर्णयबारे जानकारी गराउन जारी गरिएको परिपत्र अनुसार प्रदेश १ को ईन्चार्ज खगेन्द्र सुवेदी तोकिएका छन् ।

यस्तै मधेश प्रदेश इन्चार्जमा अनिल भगत,विशेष प्रदेश ईन्चार्जमा पर्सुन कार्की,बागमती ईन्चार्जमा कृष्ण न्यौपाने, गण्डकी ईन्चार्जमा नरेन्द्र बयाडी, लुम्विनी प्रदेश ईन्चार्जमा सूर्य घर्ती मगर, कर्णाली प्रदेश ईन्चार्जमा त्रिसणा हमाल र सुदुरपश्चिम ईन्चार्जमा भिम भट्ट तोकिएका छन् ।

विश्वविद्यालय कमाण्डहरुको ईन्चार्जमा सचिवहरु उपेन्द्र शाही र संजय कालधानले जिम्मेवारी पाएका छन् ।

त्यस्तै केन्द्रीय छात्राविभाग प्रमुखमा सचिव पार्वती नेगी, केन्द्रीय स्वयंसेवक प्रमुखमा सचिव योगेन्द्र बुढा र सम्पर्क मञ्च ईन्चार्जमा सचिव विजय सापकोटाले जिम्मा पाएका छन् ।

अखिल क्रान्तिकारीले स्ववियू चुनाव हुने त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा चुनावी कमाण्डर समेत तोकेको छ।अनलाइनखबर

साताकाे चर्चित
सम्बन्धित