छोराछोरी सामुदायिक विद्यालयमा पढाउनेलाई निःशुल्क स्वास्थ्य बीमा सुविधा
छोराछोरी सामुदायिक विद्यालयमा पढाउनेलाई निःशुल्क स्वास्थ्य बीमा सुविधा
    • Bell Sanchar

    • १४ चैत्र २०७९, मंगलवार

तनहुँ।

तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ ।

यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो ।

गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको थियो ।

गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

‘पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका हौं,’ उनले भने, ‘स्वास्थ्य बीमा गरेपछि नागरिकले १ लाख बराबरको निःशुल्क उपचार सेवा लिन सक्नेछन् ।’

स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार ३ हजार ५०० शुल्क लाग्ने छ । स्वास्थ्य बीमा गरेपछि साथमा पैसा नहुँदा दुर्गम र गरीब परिवारले सहजरूपमा उपचार पाउने विश्वास गरिएको छ ।

सामुदायिक विद्यालय सुधार अभियानअन्तर्गत आबुखैरेनीले बाल विकासदेखि ५ कक्षासम्मका छात्रछात्रालाई निःशुल्क ट्रयाकसुट, झोला, जुत्ता–मोजा तथा टिसर्ट लगायतका सामग्री वितरण थालेकोे अध्यक्ष चुमानले जानकारी दिए ।

विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रंगरोगन, डेस्क–बेन्च फेर्ने लगायतका कार्य यसै चैत मसान्तसम्म सम्पन्न गर्ने गरी काम थालिएको छ ।

कक्षा नर्सरीदेखि २ कक्षासम्म स्मार्ट टीभी राखी सिकाइ सहजको व्यवस्था मिलाइने, घण्टौं हिँड्नुपर्ने केही विद्यालयलाई स्कूल बस हस्तान्तरण गरी समस्या समाधान गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

विषयगत पर्याप्त दरबन्दी पठाउन गाउँपालिकाबाट नै आफ्नै स्रोतमा शिक्षक परिचालनका लागि आबुखैरेनी क्याम्पसका युवा परिचालन गर्ने तयारी थालिएको छ ।

सामुदायिक विद्यालयको निरन्तर अनुगमन गरी गुणस्तरीय शिक्षामा योगदान गर्ने विद्यालयलाई प्रोत्साहन गर्ने लगायतका कार्यक्रम रहेको उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित