तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता
तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता
    • Bell Sanchar

    • ११ बैशाख २०८०, सोमबार

काठमाडौं ।

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ ।

पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन् । वाग्लेले १० हजार २५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई स्वर्णिमले ५ हजार २५६ मत अन्तरले पछि पारेका छन् ।

एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत पाएका छन् । खनाल भट्टराईभन्दा २२०६ मतले र वाग्लेभन्दा ७४६२ मत अन्तरले पछि छन् ।

स्वर्णिमले सत्ता गठबन्धन र नेकपा एमालेको गढ भनिएकै क्षेत्रबाट धेरै मत पाएका छन् ।

स्थानीय तह निर्वाचनमा १३ वटा वडाहरु रहेको भानु नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको थियो ।

यहाँका ९ वटा वडा कांग्रेसले तथा एमाले र स्वतन्त्रले दुई-दुई वटा वडा जितेका थिए ।

यसैगरी आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए । कांग्रेस दोस्रो भएको थियो ।

तर भानु र आँबुकै वडाहरुबाट स्वर्णिमको पक्षमा बढी भोट खसेको छ ।

भानुको वडा नम्बर ३ मा स्वर्णिमले ७१४, वडा नम्बर ४ मा ७५९ र वडा नम्बर ८ मा ८५६ मत पाउँदा गोविन्दले ४१८, ४८२ र ४५८ मत पाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित