केन्द्रीय सत्ता समीकरण फेरिएपछि प्रदेशका सरकार पनि एकपछि अर्को फेरिन थाले
केन्द्रीय सत्ता समीकरण फेरिएपछि प्रदेशका सरकार पनि एकपछि अर्को फेरिन थाले
    • Bell Sanchar

    • १४ बैशाख २०८०, बिहीबार

पाेखरा ।

केन्द्रीय सत्ता समीकरण फेरिएपछि प्रदेशका सरकार पनि एकपछि अर्को फेरिन थालेका छन् ।बिहीवार गण्डकी प्रदेशले पनि नयाँ मुख्यमन्त्री पाउने भएको छ । यसअघि एमालेका खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८(२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त हुन लागेको हो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय बिहीवार अपराह्न ४ बजे सकिँदैछ ।

यसअघि माओवादीले समर्थन फिर्ता लिएपछि एमालेका अधिकारी अल्पमतमा परेपछि अन्ततः विश्वासको मत पाउन असफल भएका थिए । फेरि गण्डकीमा माओवादी नै सरकार गठनका लागि निर्णायक बनेको छ ।

मुख्यमन्त्रीका लागि माओवादीले पनि दाबी गरेको छ तर केन्द्रले निर्णय गरेअनुसार कांग्रेसले पहिले मुख्यमन्त्री लिने समझदारी भएको कांग्रेस स्रोत बताउँछ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नै मुख्यमन्त्री बन्नेछन् ।

आलोपालोमा त्यसपछि माओवादीले मुख्यमन्त्री लिने गरी केन्द्रमा सहमति बनिसकेको छ ।

पुस २५ गते मुख्यमन्त्री भएका एमालेका अधिकारी वैशाख ९ गते विश्वासको मत पाउन नसकेपछि पदबाट हटेका थिए ।

केन्द्रीय समीकरण बदलिएपछि चैत १० गते माओवादीले अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, माओवादीका ७, नेपाल समाजवादी पार्टीका १, स्वतन्त्रका १ सांसदको समर्थन नयाँ गठबन्धनलाई हुने देखिएको छ । एमालेका २२ सांसद छन् ।

साताकाे चर्चित
सम्बन्धित