विनोद बिकको कोठाबाट प्रहरीले रगत लागेको सर्ट र एउटा झोला बरामद ,निरा हत्या प्रकरण
विनोद बिकको कोठाबाट प्रहरीले रगत लागेको सर्ट र एउटा झोला बरामद ,निरा हत्या प्रकरण
    • Bell Sanchar

    • १७ बैशाख २०८०, आईतवार

काठमाडौं ।

काठमाडौं कपनकी निरा पाण्डे आचार्य (निरु) को हत्या आरोपमा पक्राउ परेका विनोद बिकको कोठाबाट प्रहरीले रगत लागेको सर्ट र एउटा झोला बरामद गरेको छ ।

प्रहरीले शनिबार झापाबाट पक्राउ परेका बिक नियमित जाने गरेको काठमाडौंको कागेश्वरी-मनोहरास्थित एक रेष्टुरेन्टको कोठाबाट ती सामान बरामद गरेको हो ।

कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको ७ वैशाखमा आफ्नै पसलमा हत्या भएको थियो । प्रहरीले अनुसन्धानका क्रममा सीसीटीभीमा एक युवकलाई देखेको थियो ।

ती युवक राइड सेयरको मोटरसाइकलमार्फत कागेश्वरी मनोहरास्थित एक रेष्टुरेन्टमा गएको अनुसन्धानमा खुलेपछि प्रहरीले त्यहाँ पुगेको थियो ।

प्रहरी स्रोतका अनुसार सीसीटीभी फुटेजमा देखिएको झोला नै बरामद भएको हो । पक्राउ परेका बिक घटनापछि कागेश्वरी मनोहरास्थित रेष्टुरेन्टको कोठामा गएको र भोलिपल्ट झापा पुगेको प्रहरी स्रोतको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा बिकले निराको सुन लुटपाट गर्ने उद्देश्यले हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

उनले केही सुन घटना भएको भोलिपल्ट बालाजुको एक सुन पसलमा राखेको अनुसन्धान अधिकारीले बताएका छन् । त्यसक्रममा उनी राइड सेयर एप पठाओ र टेम्पो चढेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको प्रमाणसहित केन्द्रीय अनुसन्धान व्यूरोले बिकलाई आइतबार नै सार्वजनिक गर्ने तयारी गरेको छ । उनलाई प्रहरी प्रधान कार्यालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिको टोलीले काठमाडौं ल्याइसकेको छ ।

पक्राउ परेका बिक यसअघि काठमाडौंमा एक रेष्टुरेन्टमा बाउन्सरका रुपमा कार्यरत व्यक्ति हुन् ।

एक सातासम्म पनि घटनाबारे कुनै पत्ता नलागेपछि हत्या अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआईजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो ।

साताकाे चर्चित
सम्बन्धित