१३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
१३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
    • Bell Sanchar

    • १८ बैशाख २०८०, सोमबार

आज सोमवार १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ तय गरेको छ ।

दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाल तथा विश्वभर छरिएर रहेका श्रमिकलाई शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना दिँदै भनेका छन्, ‘कामको खोजीमा विदेशिएका नेपाली श्रमिकको रोजगार थप, सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाइनेछ । स्वदेश तथा विदेशमा श्रम गर्ने श्रमिकको हक, अधिकार, सुविधा, र असल सम्बन्ध सुनिश्चित गर्न सरकार निरन्तर लागि गरेको छ ।’

श्रमिक संघ संगठनले श्रम हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) ले भने ‘हाम्रा अधिकार खोसिँदैछन्, संगठित हौं, प्रशिक्षित हौं र परिचालित हौं’ नारा तय गरेको छ ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकले लामो संघर्षबाट प्राप्त गरेको अधिकार खोसिँदै गएको गुनासो गर्छन् ।

उनले भने, ‘हामीले श्रम ऐन, सामाजिक सुरक्षा धेरै कुरा प्राप्त गर्‍यौं तर पछिल्लो समय प्राप्त गरेका यी अधिकार खोसिएको महसुस भएको छ । त्यसैले यस वर्षको नारामार्फत संगठित हौं, प्रशिक्षित हौं र परिचालित हुनलाई आह्वान गरेका हौं ।’

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विक्रम संवत् २०४६ सालको राजनीतिक परिवर्तनसँगै यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित शुरू भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरू गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित