प्रधानमन्त्री प्रचण्ड ,रास्वपा सरकारमा आउँछ, रविजीले हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन
प्रधानमन्त्री प्रचण्ड ,रास्वपा सरकारमा आउँछ, रविजीले हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन
    • Bell Sanchar

    • १८ बैशाख २०८०, सोमबार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् ।

प्रेस सेन्टर नेपाल चितवनले सोमवार आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागी हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले भने, ‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।’

रास्वपाले पहिलेका मन्त्रालय माग्नु अस्वाभाविक नभएको जनाउँदै उनले यसैमा अडिन्छन् भन्ने आफूलाई नलागेको बताए ।

सत्ता साझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए । रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरू नपुगेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले भने, ‘रास्वपा अध्यक्ष रविजीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।’

सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले सरकार ५ वर्ष चल्ने बताए । उनले भने, ‘सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ कि भन्ने भ्रम हो ।’ आफ्नो निवास शिवनगरमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री दाहालले खुलेर पत्रकारसँग कुराकानी गरेका थिए ।

सो क्रममा उनले महाविर पुन आफूसँग सल्लाह नै गरेर माइतीघर मण्डलामा बसेको बताए । बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘भेटमा मैले बजेटमा तपाईंको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भने हिँड्ने समयमा उहाँले माइतीघरमण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो । हाँसीहाँसी ।’

‘बस्नोस् त भन्न मिल्दैन बस्नुभयो भने मलाई बजेट बनाउन सजिलै हुन्छ’ भनेर आफूले भनेको उनले जानकारी दिए । प्रधानमन्त्री दाहालले थपे, ‘यसकारण सरकारले वास्ता गरेन भन्ने झूटा कुरा हो । मैले बुझ्दा त सल्लाहमा नै उहाँ बसेको भन्ने बुझेको छु ।’

पुनले विकास बजेटको १ प्रतिशत बजेट छुट्याउन अनुरोध गरेको पनि उनले बताए ।

पूर्व लडाकूलाई रकम दिने विषय विक्रम संवत् २०७१ सालको सरकारले गरेको निर्णय भएको उनले बताए ।

तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुंगिएको विषय भएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।

तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको बताए ।

आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकूलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा असत्य भएको  बताए । उनले भने, ‘तत्कालीन राजा र तिनका समर्थक भन्ने छ त्यो गम्भीर विषय हो ।’

साताकाे चर्चित
सम्बन्धित