हामी सडकमा गर्जियौं भने स्यालहरु लखेटिन्छन् : प्रधानमन्त्री दाहाल
हामी सडकमा गर्जियौं भने स्यालहरु लखेटिन्छन् : प्रधानमन्त्री दाहाल

गाउँगाउँमा पुस्तक पुर्‍याएको भए पनि कसैले यसबारे नबोलेको, बरु सबभन्दा भ्रष्टहरुले नै भ्रष्टाचार विरुद्ध बोलेको देख्दा अचम्म लाग्ने

    • Bell Sanchar

    • १८ बैशाख २०८०, सोमबार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका हरेक सकारात्मक काममा प्रहार भइरहेको बताएका छन् ।

बहिर्गमित लडाकूलाई २ लाख रुपैयाँ दिने निर्णयमा पनि स्यालहुइँया मच्चाउन खोजिएको भन्दै यसलाई छुट दिन नसकिने बताए ।

माओवादीसम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासंघको महाधिवेशनको उद्घाटन गर्दै प्रचण्डले परिर्वतनका उपलब्धीहरुलाई नकारात्मक रुपमा प्रचार गर्ने काम भइरहेको टिप्पणी गरे ।

शहीदहरुलाई शहीदका रुपमा सम्मान गरिनुपर्छ भन्दा प्रहार भएको र अयोग्य लडाकूहरुलाई २ लाख रुपैयाँ दिने निर्णयमा पनि स्याल हुइँया मच्चाउन खोजिएको उनले बताए ।

उनले भने, ‘मैले आफ्नै आविष्कारबाट निर्णय गरेको होइन, अर्कै सरकारले निर्णय गरेको एउटा परिस्थितिमा सर्वोच्च अदालतले बहिर्गमित लडाकूलाई २ लाख रुपैयाँ दिनू भनेपछि त्यही फैसला कार्यान्वयन गर्न खोज्दा स्यालहुइँया मच्चाउन खोजिएको छ ।’

नकारात्मक वातावरण बनाएर सम्पूर्ण त्यागलाई अपमानित गर्ने र उल्ट्याउने षड्यन्त्र अझ अगाडि जानसक्ने उनले बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी नजाग्दा, हामी नगर्जिँदा स्यालहरु कराउन थालेका छन्, स्यालहरुले रजाइँ गर्ने जस्तो गर्न थालेका छन् । त्यसलाई छुट दिन सकिंदैन ।’

आफ्नो कतै कमजोरी भएर आत्मसमीक्षा गरेर करेक्सन गर्नुपर्ने भएपनि जनयुद्ध र जनआन्दोलनमार्फत प्राप्त राजनीतिक उपलब्धीमाथि नै हुने प्रहार स्वीकार्य नहुने प्रचण्डले बताए । उनले अगाडि भने, ‘मैले जनयुद्ध भनिरहेको छैन, भूमिगत जाने कुरा गरिरहेको छैन । हामी सडकबाट गर्जियौं भने मात्र पनि स्यालहरु लखेटिन सक्छन् ।’

अब छिट्टै पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भन्दै उनले परिर्वतन उल्ट्याउन खोज्ने प्रवृत्ति स्वीकार्य नहुने बताए । ‘जरुरी पर्छ भने फेरि एकचोटी त्याग र संघर्षको कीर्तिमान बनाउन तत्पर छौं, तर यो स्यालहुइँया सहन तत्पर छैनौं भन्ने घोषणा गर्नुपर्नेछ’, उनले भने ।

प्रधानमन्त्री भएपछि आफूले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेको प्रधानमन्त्री प्रचण्डले बताए । श्रमिकहरुको हक अधिकारका लागि काम गरेको र सामाजिक सुरक्षा कोषबारे ऐतिहासिक निर्णय गरेको उनले दाबी गरे ।

गाउँगाउँमा पुस्तक पुर्‍याएको भए पनि कसैले यसबारे नबोलेको, बरु सबभन्दा भ्रष्टहरुले नै भ्रष्टाचार विरुद्ध बोलेको देख्दा अचम्म लाग्ने गरेको उनले बताए । सरकारले भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि ‘समान्तका छाउरा’हरु बाहिर आएको भन्दै उनले अगाडि भने, ‘अझ पूर्वबाट रे । मैले फागुन १ गते जनयुद्ध दिवसका दिन बिदा दिएर त्यसको जवाफ दिएँ ।’

उनले चुनावी घोषणाअनुसार भ्रष्टाचारको छानबिनका लागि आयोग बनाउने समेत बताए । ‘हामीले निर्वाचन घोषणापत्रमा एउटा आयोग बनाएर ०४८ यताका सबै भ्रष्टहरुको छानबिन गर्ने भनेका छौं । छिट्टै त्यो आयोग बनाउने मेरो पहल हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भने ।

साताकाे चर्चित
सम्बन्धित