विकट पालिका महाभारतमा अब सडक र बत्ति, छायो स्थानीयको मुहारमा खुसी
विकट पालिका महाभारतमा अब सडक र बत्ति, छायो स्थानीयको मुहारमा खुसी
    • Bell Sanchar

    • २७ बैशाख २०८०, बुधबार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले काभ्रेको महाभारत गाउँपालिकाको देविटार पुग्ने सडक शिलान्यास गरेका छन्। मंगलबार प्रधानमन्त्री प्रचण्डले देविटार पुग्ने पिंगथली रजवास भूमिचुली बुढाखानी देविटार खण्डको १७ किलोमिटर लामो सडक शिलान्यास गरेका हुन् ।
उक्त सडक पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक मार्फत निर्माण हुनेछ । १७ किमी सडक निर्माणका लागि ६० करोड ९६ लाख ७१ हजार ६ सय १९ रुपैयाँको लागतमा सम्झौता भएको छ ।
जसमा बागमती प्रदेश सरकारले ९९ करोड रकम विनियोजन गरेको छ । उक्त सडक बागमती प्रदेश सरकारले २०८२ कार्तिक १९ गतेसम्म ३० महिना भित्र निर्माण कार्य सक्ने गरी सन्तोषी धर्म जेभीसँग सम्झौता गरेको प्रदेश सचिव शंकर प्रसाद पण्डितले बताए ।
‘भुमेचुली–बुढाखानी–तिनखुट्टे सडक कालोपत्रे सहितका लागि ९९ करोड रकम विनियोजन भएको थियो । ६० करोड ९६ लाखमा सम्झौता भएको छ । तिनखुट्टे देविटार सडकका लागि ४९ करोड रकम विनियोजन भएको छ भने देविटार गोकुले सडकका लागि ४८ करोड रकमको श्रोत सुनिश्चित भएको छ’–उनले भने,  निर्माण ब्यवसायीहरुले विनियोजन बजेटमा कम दरमा सम्झौता गर्ने अनि समयमा काम सम्पन्न नगर्दा महाभारतबासीहरुले खोजेको विकास प्राप्त गर्न सकेका छैनन् ।’


९९ करोडको बजेटमा ६० करोड ९६ लाखमा सम्झौता भएको छ भने ४९ करोडको बजेटको सडकमा २४ करोडमा सम्झौता भएको छ । तिनखुट्टे – देविटारसम्मको ८.७ किलोमिटर पक्की सडक निर्माण कार्य अलपत्र भए पछि गाउँपालिकाले पटक पटक प्रदेश मन्त्रालयलाई समयमै निर्माण सम्पन्नका लागि पत्र लेख्दै आएको थियो ।
उक्त सडकको अवधि दुई वर्ष सम्पन्न भएर पुनः अर्को वर्ष थप हुँदा समेत समयमै निर्माण कार्य सम्पन्न हुन सकेको थिएन।
अब सबै काम समयमा नै सम्पन्न गर्न पनि उनले निर्देशन दिए। ‘यो सडक सरकारको प्राथमिकतामा परेको छ,’ उनी निर्माण व्यवसायिलाई निर्देशन दिन्छन्,‘गुणस्तरिय काम समयमा नै सम्पन्न गरिदिनु होला। सबैको इच्छा, चहाना र प्राथमिकतामा रहेको सडक ठेक्का सम्झौता अवधि भित्रै सम्पन्न गर्नुहोस्। यहाँका जनतालाई समयमै गाडीको सुविधा दिनुपर्ने छ।’


राजधानी नजिकै रहेको गाउँपालिका भएपनि हालसम्म सडक राम्रो बन्न सकेको छैन। महाभारत गाउँपालिकालाई राज्यलेनै विकासमा पछाडि पारेको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले बताए।
‘महाभारत जस्ता ठाउँहरू देशमा थुप्रै छन्। जहाँ राज्य व्यवस्थाका कारण विभेद थियो,’ उनी भन्छन्,‘अब पछाडि परेका गाउँ, ठाउँको विकासका लागि हामी आएका छौं । अब जनताले दुःख भोग्न पर्दैन।’
भौगोलिक विकटता तथा वर्षा मौसममा कच्ची सडक अबरुद्ध हुँदा महाभारतका स्थानीयले निकै कठिनाइ भोग्दै आएका थिए। बिरामी हुादा हेलिकोप्टरबाट बिरामीको उद्धार गरेर काठमाडौं ल्याउने बाध्यता थियो। अब त्यसको अन्त्य हुने उनी बताउँछन्।

‘काभ्रेको रोशी गाउँपालिका मंगलटार स्थित विपी राजमार्गबाट महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरे स्थित मदनभण्डारी लोकमार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माण गरिनेछ’–भौतिक पूर्वाधार मन्त्री दुलालले भने,‘उक्त मार्गका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षबाट नै काम सुरु गर्ने गरी बजेट विनियोजन हुनेछ ।’

यस्तै काभ्रेको महाभारत गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइनको उद्घाटन पनि गरिएको छ। मंगलबार प्रधानमन्त्री प्रचण्डले महाभारत गाउँपालिकाको वडा नम्बर ३,४,५ र ६ नम्बर वडामा केन्द्रीय विद्युत् प्रसारण लाइन शुभारम्भ गरेका हुन्।


योसँगै महाभारत गाउँपालिकामा पहिलो पटक केन्द्रीय प्रसारण लाइन सुरु भएको छ। वडा नम्बर ३,४ र ५ वडाका १ हजार ५ सय घरमा बत्ती बलेको छ ।
२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचन अघिसम्म नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सम्पर्कमा नरहेका महाभारत र खानिखोला गाउँपालिकाका सर्वसाधारण पहिलो पटक बिजुली बत्तीको उज्यालोमा बस्न पाउने भएका हुन् । महाभारत र खानिखोलाबासीलाई बत्तीको अँध्यारोबाट उज्यालो बनाउने अभियानमा आफुहरूले कुनै कसर बाँकी नराखेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए।


यस्तै, यही वर्ष भित्र बाँकी रहेको घरमा बिजुली बत्ती बालिसक्ने योजना रहेको पनि उनले बताए। हाल वडा नम्बर ६ र ७ मा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने वडा नम्बर १, २ र ८ मा धमाधम कार्य भइरहेको छ ।
केन्द्रीय प्रसारण लाइन नभएका कारण महाभारतमा उद्योग कलकारखाना सञ्चालन हुन सकेका थिएनन् । लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट रातको समयमा उज्यालो देखिने गरेको थियो । महाभारत गाउँपालिकामा ३ हजार ३ सय घर धुरी छन् । सबै घरमा बिजुली, खानेपानी पु¥याउने गरी कार्य भइरहेको गाउँपालिकाले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित