बालकृष्ण निलम्बनमा पर्लान् ? कांग्रेसको बैठक बस्दै
बालकृष्ण निलम्बनमा पर्लान् ? कांग्रेसको बैठक बस्दै
    • Bell Sanchar

    • २८ बैशाख २०८०, बिहीबार

काठमाडौं

नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएको छ । केही दिनयता निरन्तर बस्दै आएको पदाधिकारी बैठक बिहीबार पनि बस्न लागेको हो ।  संगठन र विभागहरुको विषयमा छलफल केन्द्रित हुँदै आएको बैठकमा बालकृष्ण खाँण प्रकरणबारेको एजेण्डा पनि थपिएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री समेत रहेका नेता खाँण बुधबार पक्राउ परेका थिए । पक्राउपछि खाँणलाई पार्टीबाट निलम्बन गरिनुपर्ने आवाज उठ्दै आएको छ ।
तर, बुधबार बसेको पदाधिकारी बैठकमा कांग्रेसले यसबारे कुनै निर्णय लिएको थिएन । प्रवक्ता प्रकाशशरण महतले खाँणले अनुसन्धानलाई सघाइरहेकाले उनलाई पार्टीबाट निलम्बन गर्ने विषयमा निर्णय गर्न आवश्यक नदेखिएको बताएका थिए ।

‘उहाँले अनुसन्धानलाई सहयोग गरिरहनु भएको छ।  अनुसन्धान निष्पक्ष रुपमा होस् भन्ने चाहन्छौं’, महतले भने ।
तर, बिहीबार भने उनलाई निलम्बन गरिन सक्ने एक नेताले बताए । बुधबारकै बैठकमा पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसबारे आवाज उठाएपनि सभापति शेरबहादुर देउवा मौन बनिदिँदा निर्णय हुन सकेको थिएन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिइसकेको छ ।  खाँणलाई बुधवार बिहान चाबहिलको मैजुबहालस्थित निवासबाटै पक्राउ गरिएको थियो ।
नक्कली शरणार्थी प्रकरणमा करोडौंको रकम ठगी गरेको घटनामा जोडिएपछि उनीसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनले ठगी गिरोहका सदस्यहरुबाट आर्थिक कारोबार गरेको देखिएको छ।  यो प्रकरणमा खाँणसमेत हालसम्म १२ जना पक्राउ परिसकेका छन् ।

साताकाे चर्चित
सम्बन्धित