प्रचण्ड–नारायणकाजीले देखाउन थालेको ‘फिल्म’
प्रचण्ड–नारायणकाजीले देखाउन थालेको ‘फिल्म’
    • सागर न्यौपाने

    • २८ बैशाख २०८०, बिहीबार

काठमाडौं

सर्वसाधारण मात्र होइन, कतिपय सांसद नै भन्थे– नेपालमा राजनीतिक दल र तिनका नेताको आडमा हुर्किएको अपराधको जालोमा संलग्नको पहिचान गर्नै सकिँदैन, पहिचान भइहाले पनि कारबाही हुँदैन।

सबै ठूला नेता मिलेर भ्रष्टाचारीलाई चोख्याउँछन्, कानुन भनेको सानालाई हो, ठूलाले जस्तोसुकै अपराध गरे पनि छुट पाउँछन् भन्ने आम धारणा नै बनिसकेको थियो। पछिल्ला वर्षहरुमा देखिएको राजनीतिप्रतिको वितृष्णा त्यसकै परिणाम हो।

नेपालमा भ्रष्टाचारको जालो कति खतरनाक तरिकाले फैलिएको रहेछ भन्ने कुरा नक्कली भुटानी शरणार्थी प्रकरणले पनि देखाएको छ। यो प्रकरणमा ठूला दलका प्रभावशाली नेताहरु संलग्न भएको पुष्टि भयो।

वैशाखको दोस्रो सातादेखि नेपाली राजनीति यही विषयको वरिपरि घुमिरहेको छ। त्यसैले अधिकांशलाई लागेको थियो– प्रभावशाली नेताहरुको प्रत्यक्ष संलग्नता रहेको यो प्रकरण अघि बढ्दैन, यसै फासफुस हुन्छ।

तर, यसपटक त्यसो भएन।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको कुर्सीमा बसेका पुष्पकमल दाहाल प्रचण्डले नीतिगत यो मुद्दामा बलियो अडान लिएका छन्। उनलाई दरिलो साथ दिएका छन्, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य बालकृष्ण खाँण बुधबार पक्राउ परेका छन्। गणतन्त्र स्थापनापछि अपराधका लागि गिरफ्तारीमा पर्ने खाँण उच्च तहका नेता हुन्।

उनी २०७८ असारदेखि २०८९ पुस ९ गतेसम्म गृहमन्त्री थिए। प्रहरीको कमान्ड सम्हालेका खाँण गिरफ्तारीले गरेको संकेत हो– यो सरकारले दोषी छुटाउने पक्षमा छैन।

अहिलेसम्म नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने विषयमा उनको संलग्नता के केमा छ, त्यसको सम्पूर्ण विवरण सार्वजनिक भइसकेको छैन। तर, उनले भ्रष्टाचार गरेको यथेष्ठ प्रमाण प्रहरीले संकलन गरेको छ। उनले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग मिलेर पैसा असुल्नकै लागि शरणार्थी सम्बन्धी नक्कली प्रतिवेदन बनाउन भूमिका खेलेका थिए।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी यो प्रकरणमा मुछिएका अर्का उच्च तहका नेता हुन्। अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा चार पटक जितेका उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। तर, उनी फरार छन्।

यो प्रकरणमा मुछिएका गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे यो प्रकरणमा समातिएका उच्च तहका कर्मचारी हुन्। उनैले नक्कली शरणार्थी सम्बन्धी फाइल तयार पारेका थिए।

उनीसहित पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि पक्राउ परेका छन्।

भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा टोपबहादुरका छोरा सन्दीप,  सानु भण्डारी, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सन्देश शर्मा र सागर राई पक्राउ परिसकेका छन्। अझै १० जनाभन्दा बढी फरार छन्।

प्रहरीलाई स्वतन्त्र रुपमा काम गर्न दिँदा मात्रै पनि ठूला काण्डको अनुसन्धान हुन्छ भन्ने यो प्रकरणले देखाएको छ।

नेपाली राजनीतिका पुराना दृष्टान्तहरुलाई हेर्दा सरकारको यो कदम चानचुने होइन। उसो त प्रहरीले उच्च नेताहरुविरुद्ध प्रमाण जुटाइरहँदा शीर्ष नेताहरुको दौडधुपलाई लिएर अनेकौँ आशंका जन्मिए। तर, प्रधानमन्त्री प्रचण्डले प्रमाण प्राप्त भइसकेपछि कसैलाई पनि नछोड्न र स्वतन्त्र रुपमा काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

‘राज्यलाई हानी हुनेगरी भ्रष्टाचारमा मुछिएका व्यक्ति जोसुकै भए पनि कारबाही गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ, यसमा गृहमन्त्री मुख्यगरी लाग्नुभएको छ,’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालखबरसँग भने, ‘यो काम फत्ते नभएसम्म जारी रहन्छ।’

प्रधानमन्त्रीले यो काममा कांग्रेस र एमालेको साथ पनि लिएका छन्। बुधबार पनि सिंहदरबारमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनले छलफल गरेका छन्।

उनले तीन नेताबीच दोषी कोही नछुटोस्, निर्दाेष कोही नपरोस् भन्ने कुरामा सहमति भएको बताए।

‘हामीले प्रहरीलाई निष्पक्ष अनुसन्धानका लागि निर्देशन दिएका छौँ। प्रहरीले आफ्नो विधिअनुसार काम गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रहरीले गरिरहेको अनुसन्धानमा डिस्टर्ब नगरौँ भन्ने सहमति हामीबीच भएको छ।’

अझै केही नेताहरु पक्राउको सूचीमा रहेको गृहमन्त्रीले बताएका छन्।

उनले मन्त्रालय सम्हालेकै दिन हिसाब देखाउनै नपर्ने गरी गृहमन्त्री र सचिवले वर्षको करोडौँ रुपैयाँ खर्च गर्न पाउने नियम खारेज गराएका थिए। मिटरब्याजीलाई कारबाही गर्ने कानुन पनि ल्याएका थिए।

प्रचण्डले सोमबार काभ्रे पुगेर अहिलेसम्म ट्रेलर मात्र देखाएको र अब फिल्म नै देखाउने बताएका थिए।

‘पीएमले साँच्चै फिल्म देखाउन थाल्नुभयो। अब यो प्रक्रिया कसैले चाहँदैमा रोकिँदैन। घटनाक्रमले त्यही पुष्टि गरेको छ,’ आचार्यले थपे।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै भेटघाटले अनुसन्धान प्रभावित नहोस भन्दै अनुसन्धान स्वतन्त्र र निष्पक्ष बनाउन आग्रह गरे। आफ्नै पार्टीका प्रभावशाली नेता खाण पक्राउ परेको केही बेरपछि बुधबार (२७ वैशाख) को संसद् बैठकमा बोल्दै उनले सरकारले गरेको अनुसन्धानप्रति खुसी व्यक्त गरे।

‘निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस कि नाता होस् एउटा पनि नछुटोस्’, थापाले भने,
‘यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अगाडि सुशासनको नारा लगाउन सक्छ, तपाईंको फिल्म चल्छ, हाउसफुल हुन्छ।’

सरकारको कदमको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्दै साथ दिने बताएको छ। सामाजिक सञ्जालमा सरकारको कदमप्रति समर्थन जनाउनेको ओइरो लागेको छ।

जनतालाई शरणार्थी बनाएर करोडौँ ठगी गर्नेविरुद्ध सरकार निर्मम भएर लाग्नुपर्ने र साथ दिन तयार रहेको अधिकांशको भनाइ छ। त्यस्तै, अन्य काण्डहरुको पनि फाइल खोल्न सर्वसाधारणले माग गरेका छन्।

हालसम्मको घटनाक्रमबाट देखिन्छ– अब यो प्रकरण फासफुस हुने छैन। अनुसन्धान जरासम्म पुग्नेछ। तर, केही गरी अनुसन्धान रोकिए त्यो सरकारकै लागि प्रत्युत्पादक बन्ने स्पष्ट छ।

नेपाल खबर

साताकाे चर्चित
सम्बन्धित