नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री अनिच्छुक, गृहमन्त्री दृढ
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री अनिच्छुक, गृहमन्त्री दृढ
    • Bell Sanchar

    • २८ बैशाख २०८०, बिहीबार

काठमाडौँ 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्नुअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पक्राउ नगर्न व्यक्त गरेको इच्छालाई नमानेको पाइएको छ।

बुधबार बिहान खाणलाई प्रहरीले मैजुबहालस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। उनलाई पक्राउ गर्नुअघि सत्ताको उच्च राजनीतिक तहमा कुराकानी भएको थियो।

त्यसक्रममा कांग्रेसका तर्फबाट उपप्रधानमन्त्री रहेका पूर्णबहादुर खड्काले खाणलाई पक्राउ गरे सत्ता गठबन्धन नै धरापमा पर्नेसम्मको चेतावनी दिएको स्रोतको दाबी छ। तर, चर्को दबाबका बीच पनि गृहमन्त्री श्रेष्ठले खाणलाई पक्राउ गर्ने प्रहरीको योजनामा साथ दिएका हुन्।

पूर्वगृहमन्त्री खाणलाई पक्राउ गर्न बुधबार बिहान ३ बजे नै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी नेतृत्वको टोली खाण निवास मैञ्जुबहाल पुगेको थियो। सुरुमा खाणको निवासबाट उनका पीए नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

स्रोतका अनुसार आफूलाई पक्राउ गर्न प्रहरी टोली आएको थाहा पाएपछि राति नै खाणले सम्भव भएसम्म उच्च राजनीतिक नेतृत्वसँग सम्पर्क गर्ने कोसिस गरेका थिए। तर, राति भएकाले तत्काल कोही पनि सम्पर्कमा आएनन्। बिहान पौने ५ बजेतिर मात्रै खाणले उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग कुराकानी गरे।

खाणसँगको कुराकानीपछि खड्काले प्रधानमन्त्री दाहाललाई फोन गरेर पक्राउ गर्न गएका प्रहरी फर्काउन आग्रह गरेका थिए। कुराकानीका क्रममा खड्काले खाणलाई पक्राउ गरे सत्ता गठबन्धन नै संकटमा पर्ने चेतावनी दिएको कांग्रेसका एक नेताले देश सञ्चारलाई जानकारी दिए।

ती नेताले भने, ‘उपप्रधानमन्त्रीले प्रधानमन्त्रीलाई पक्राउ नगर्न चेतावनीकै शैलीमा भन्नुभएको रहेछ। उहाँले प्रहरीलाई यथास्थितिमै फर्काउन आग्रह गर्दै अन्यथा सत्ता गठबन्धनमै गडबडी हुने चेतावनी दिनुभएछ।’

खड्कासँगको कुराकानीपछि प्रधानमन्त्री दाहालले तुरुन्तै गृहमन्त्री श्रेष्ठलाई फोन गरेर पक्राउ नगर्न भने। तर गृहमन्त्रीले प्रहरी अघि बढिसकेको भन्दै प्रधानमन्त्रीको निर्देशन अस्वीकार गरेको उच्च राजनीतिक स्रोतले जानकारी दियो। श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा जोसुकै मुछिएका भए पनि निष्पक्ष छानबिन हुनुपर्ने पक्षमा आफू रहेको जवाफ प्रधानमन्त्री दाहाललाई दिएका रहेछन्।

प्रधानमन्त्रीबाट राजनीतिक दबाब आउने र त्यसको प्रभाव आफूसम्म आइपुग्ने बुझेरै श्रेष्ठले खाणलाई पक्राउ गर्नुअघि दाहालसँग समेत परामर्श नगरेको स्रोतको दाबी छ।

खाण पक्राउ पर्नुका पछाडि गृहमन्त्री श्रेष्ठको अडानका साथै कांग्रेसभित्रकै एउटा समूहको सहयोगसमेत रहेको बुझिएको छ। मन्त्रिपरिषद्‌मै रहेका र बाहिर भएका कांग्रेसका नेताहरु पनि खाणलाई पक्राउ गरेर अनुसन्धान गर्न दबाब दिएका थिए।

खाणलाई पक्राउ गरेपछि बुधबार दिउँसो गृहमन्त्रीलाई धन्यवाद दिन कांग्रेसका नेताहरु सामूहिक रुपमा गृह मन्त्रालय पुगेका थिए। नेताहरु गुरु घिमिरे, रञ्जित कर्ण, गोविन्दराज पोखरेल, मधु आचार्य, भुपेन्द्रजङ्ग शाही, नरेश यादवलगायत २५ जनाभन्दा बढी नेता हँसिलो अनुहार लिएर गृहमन्त्री भेट्न जानुले खाणलाई पक्राउ गर्न कांग्रेसभित्रबाट दबाब रहेको प्रष्ट भएको छ।

कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री पक्राउ परेपछि नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाउने काममा लागेका अरु पनि समातिने प्रहरीको दाबी छ।

घटनामा प्रत्यक्ष रुपमा मुछिएकाहरुलाई पक्राउ गर्ने सूची तयार गरेर प्रहरी परिचालित भएको छ। अदालतबाट अनुसन्धानका लागि चार दिन थुनामा राख्ने अनुमित लिएर उनलाई काठमाडौँ प्रहरी परिसरमा राखिएको छ।

साताकाे चर्चित
सम्बन्धित