आज फिल्म हलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शन
आज फिल्म हलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शन
    • Bell Sanchar

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

आज फिल्म हलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘ए साथी सुन’, ‘डाकिनी’ र हलिउड फिल्म ‘फास्ट एक्स’ प्रदर्शनमा आएका हुन्।

लभस्टोरी, थ्रिलर र कमेडी जनराको फिल्म ‘ए साथी सुन’ मा वर्षा सिवाकोटी, रमेश बानियाँ, आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, कृष्मा खड्का, इभान सन्जेल, बिमला गिरीलगायत कलाकारको अभिनय छ। ‘ए साथी सुन’ जयनन्द लामा अभिनीत अन्तिम फिल्म हो।

रामराघव आचार्य लिखित तथा निर्देशित फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन्। इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको सह-निर्मातामा सुदीप पौडेल छन्।

विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको फिल्म ’डाकिनी’ नेपाली हलमा प्रदर्शन हुन लागेको हो। षट्कोण आर्टस् ब्यानरबाट निर्मित फिल्मको अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ दिइएको छ।

खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले निर्देशन गरेको फिल्मका निर्माता रविन्द्रसिंह बानियाँ र म्याक्स दिपेश खत्री हुन्। निर्देशक रिम्पोछे बौद्ध धर्मका ठूला गुरू समेत हुन्।

बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी) का प्रशस्तै मिथक र दन्त्यकथा छन्। यो फिल्म पनि यस्तै देवीको खोजीको कथा हो जसले बौद्ध ग्रन्थको सुन्दर आयामलाई बाहिर ल्याउँछ।

फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन्।

भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन्। फिल्ममा कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँलगायत कलाकारको समेत अभिनय छ।

हलिउड फिल्म ‘फास्ट एक्स’ लाई लुइस लेटरियरले निर्देशन गरेका हुन्। फिल्ममा भेन डिजेल, जेसन मोमोआ, मिचेल रोड्रीगेजलगायत कलाकारको अभिनय छ।

यो एक्सन फिल्म ‘फास्ट एण्ड फ्युरियस’ दशौं श्रृंखला हो।

साताकाे चर्चित
सम्बन्धित