सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा अध्यक्ष ओलीले भाग लिंदै
सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा अध्यक्ष ओलीले भाग लिंदै
    • Bell Sanchar

    • ७ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।

सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भाग लिंदैछन् ।

यसअघि उनले जेठ ४ गते नै संसदमा सम्बोधन गर्ने भनिएको थियो । तर स्वास्थ्य समस्याका कारण सो दिन सम्बोधन नगरेका ओलीले आज सम्बोधन गर्न लागेका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर अध्यक्ष ओलीले आजको प्रतिनिधि सभामा सम्बोधन गर्ने बताए ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै छ ।

सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए ।

एमाले संसदीय दलको शनिबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमको सशक्त विरोध गर्ने निर्णय गरेको थियो ।

संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको सशक्त प्रतिवाद गर्न एमाले नेताहरुलाई निर्देशन दिएका थिए ।

ओलीका अनुसार नीति तथा कार्यक्रम दिशाहीन र अन्योलग्रस्त छ ।

प्रमुख सचेतक गिरीले, सरकारले मुलुकको अहिलेको अर्थतन्त्रको समस्या समाधान गर्नेभन्दा पनि जनतालाई भ्रममा पार्ने किसिमले नीति तथा कार्यक्रम ल्याएकाले एमालेले त्यसको विरोध गर्ने बताए ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

साथै नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु पनि प्रस्तुत हुनेछन् ।

सभामुखले उपलब्ध गराउने समयसीमा भित्र रहेर दलगत रुपमा सांसदहरुले आ-आफ्ना धारणा राख्नेछन् ।

आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथि आजदेखि जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ ।

छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ ।

त्यसपछि जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछ ।

साताकाे चर्चित
सम्बन्धित