राष्ट्र बैंकको निष्कर्ष : २ हजारको नोट नचलाउने भारतको निर्णयले असर गर्दैन
राष्ट्र बैंकको निष्कर्ष : २ हजारको नोट नचलाउने भारतको निर्णयले असर गर्दैन
    • Bell Sanchar

    • ८ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले भारु दुई हजारको नोट नचलाउने भारत सरकारको निर्णयले नेपालमा कुनै ठूलो प्रभाव नपार्ने निष्कर्ष निकालेको छ ।

नेपालमा भारु दुई हजारको नोटले वैधता नपाएपनि सीमावर्ती क्षेत्रमा केही नोटहरु रहेको हुन सक्ने र साट्ने अवधि लामो रहेकाले नसाटिने जोखिम नरहेको राष्ट्र बैंकको निष्कर्ष छ ।

सन् २०१६ मा भारत सरकारले नोटबन्दी गर्दा नेपालमा चलनचल्तीमा रहेको ५ करोड भारतीय रुपैयाँ अझै नेपालको केन्द्रीय बैंकमा थन्किएर बसेको छ ।

भारतले त्यतिबेला बैंकिङ प्रणालीमा नरहेको पैसा सटही गरेपछि नागरिकसँग रहेको पैसा बैंकले संकलन गरेको ५ करोड भन्दा बढी भारु सटही हुन नसकेको हो ।

पुनः १ अक्टोबर २०२३ देखि लागु हुनेगरी रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले २ हजार दरका नोट चलनचल्तीमा बन्द गर्ने निर्णय गरेको छ ।

यसले पुनः २०१६ कै जस्तो नेपालीसँग रहेको भारतीय रुपैयाँ सटही के हुन्छ भन्ने जिज्ञासा हुनसक्छ ।

तर, सन् २०१६ मा नोटबन्दी गरिएको ५०० र १ हजार दरका भारु नोट नेपालमा चलनचल्तीका लागि वैधानिक थियो । तर, अहिले बन्द गर्ने निर्णय गरेको २ हजार दरको भारु सर्वसाधारणले प्रयोग गर्न प्रतिबन्धित छ ।

यसले सीमा क्षेत्रको बजारमा बाहेक २ हजार दरका भारु नोट नेपालमा ठूला संख्यामा भएको हुनसक्ने सम्भावना न्यून रहेको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।

नेपालमा चलनचल्तीमा नै नभएका र अनौपचारिक माध्यममा सीमाक्षेत्रमा रहेका व्यापारीले केही भारु प्रयोग गर्ने भएपनि ३० सेप्टेम्बर २०२३ सम्मको समयसीमाभित्र साट्न र भारतको बैंकमा जम्मा गर्ने समय दिएकोले २०१६ को नोटबन्दीको समयको जस्तो नसाटिने जोखिम नरहेको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख श्रेष्ठ बताउँछन् ।

साताकाे चर्चित
सम्बन्धित