सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोलीले प्रधानमन्त्री दाहाल भेट्दै
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोलीले प्रधानमन्त्री दाहाल भेट्दै
    • Bell Sanchar

    • १० जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

स्रोत वितरणमा पछि पारिएको भन्दै संघ सरकारको ध्यााकर्षण गराउन आइपुगेको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोलीले अहिले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्दैछ।

प्रधानमन्त्री प्रचण्डलाई सरकारी निवास बालुवाटारमा बिहान ७ बजे भेट्ने कार्यक्रम तय भएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाहीले बताए।

‘हिजो हामीले अर्थमन्त्री प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गरायौं,’ मन्त्री शाहीले  भने, ‘समानीकरण अनुदानको भुक्तानी रोकिएको र केही वर्ष वा केही सूचक निर्धारण गरेर त्यसअनुसार स्रोतमाथि सुदूरको विशेषाधिकार प्रदान गरेर संघ सरकार अघि बढ्नुपर्ने बारेमा ध्यानाकर्षण गरायौं। उहाँहरू सकारात्मक हुनुहुन्छ।’

मन्त्री शाहीले बुधबार प्रधानमन्त्री प्रचण्डका अतिरिक्त प्रमुख प्रतिपक्षी लगायत राजनीतिक दलका प्रमुख पनि भेट्ने तयारी रहेको उनले बताए।

संघीय सरकारको आँखामा सुदूरपश्चिम पछाडि पारिएको र स्रोत बाँडफाँटमा बहिष्करणमा नै पारिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधिमण्डल डेलिगेसनका लागि काठमाडौं आएको हो।

सुदूरपश्चिम सरकारलाई स्रोतको पहुँचमा कमजोर बनाइएको राजस्व कम उठेको भन्दै समानीकरण अनुदानको अन्तिम किस्ताको भुक्तानीसमेत रोकिएको विषयमा ध्यानाकर्षण गराउन काठमाडौं आएको उनीहरूले बताएका छन्।

‘सुदूरपश्चिम प्रदेशको हकमा यो समानीकरण अनुदान कटौती नगर्न र आगामी दिनमा कम्तीमा पनि निश्चित केही वर्ष वा केही सूचक निर्धारण गरेर त्यसअनुसार स्रोतमाथि सुदूरको विशेषाधिकार प्रदान गर्न सुदूरपश्चिम प्रदेश सभाले जेठ ६ गते सर्वसम्मत निर्णय गरिसकेको जानकारी दिन पनि काठमाडौं आएका हौं,’ मन्त्री शाहीको भनाइ छ।

उनीहरूले कर्णाली प्रदेशसँग पनि समन्वय गरिरहेका छन्। केन्द्र सरकारले थप अटेर गरेर स्रोतमा पछि पार्दै लगे अरू प्रदेशसँग पनि समन्वय गरेर अघि बढ्ने तयारी भइरहेको मन्त्री शाहीको भनाइ छ।

काठमाडौं आएको प्रतिनिधिमण्डलमा मुख्यमन्त्री कमलबहादुर शाह, प्रमुख प्रतिपक्षी दलका नेता राजेन्द्रबहादुर रावल, सभामुख भीमबहादुर भण्डारी, मन्त्रीहरू लगायत छन्।

साताकाे चर्चित
सम्बन्धित