गृहमन्त्री नारायणकाजी श्रेष्ठ , आफ्ना नागरिकलाई अनागरिक बनाउन खोज्दा हाम्रो शिर निहुरिएको छ, दोषी उम्कँदैनन्
गृहमन्त्री नारायणकाजी श्रेष्ठ , आफ्ना नागरिकलाई अनागरिक बनाउन खोज्दा हाम्रो शिर निहुरिएको छ, दोषी उम्कँदैनन्
    • Bell Sanchar

    • ११ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै नागरिकलाई अनागरिक बनाउने धन्दामा राज्यकै निकायमा रहेकाहरूको संलग्नता देखिनुले सबैको शिर निहुरिएको बताएका छन्।

बिहीबार मन्त्रालयमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्‍याइ छाड्ने बताएका हुन्।

‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर, अर्काको देशको शरणार्थी बनाएर विदेश पठाउने योजना बनाएर, सम्पत्ति आर्जन गर्ने धन्दा भयो, यसमा हामी लज्जित छौं।

राज्यकै निकायमा भएको मानिसहरूबाट नै यो प्रकारको काम भयो भनेर अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएर अहिले मुद्दा अदालतमा पेश गरेका छौं,’ उनले भने।

उनले अनुसन्धानमा कुनै प्रकारको दबाब, प्रभाव नहोस् तथा अवाञ्छित प्रभावबाट मुक्त होस् भने प्रहरीलाई निर्देशन दिएको पनि बताए।

‘आर्थिक र अरू प्रकारका चलखेल हुने गरेको भनेर त्यो सुनिन्छ, त्यसबाट मुक्त रहोस् भनेको छु।

स्वतन्त्र, निष्पक्ष भएर छानबिनब अगाडि बढाउने र त्यसलाई निष्कर्षमा पुर्‍याउने अठोट छ,’ उनले भने, ‘आशंकाको आधारमा, राजनीतिक वा मनोगत पूर्वाग्रहका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक प्रष्ठिामा आँच पुर्‍याउने काम नहोस् भनेर भनेको छु।’

उनले ३० जनामागि मुद्दा चलाउँदैमा अनुसन्धान नसिकने बताए। उनले थप अनुसन्धान पनि भइरहेकाले कोही निर्दोष फस्ने र दोषी उम्कने आशंका व्यक्त नगर्न आग्रह गरे।

‘अहिलेको प्रहरीको अनुसन्धानको ढोका खुला छ। प्रहरीले अरू प्रक्रियामा जस्तै बयानहरूलाई पनि आधार बनाएको छ। बयानसँग मेल खानेगरी अरू तथ्य प्रमाण पनि खोजी गरिएको छ।

जोडेर अगाडि बढाइएको छ,’ उनले भने।

एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरू तौरतरिकाबाट पनि अनुसन्धान भइरहेको बताए।

‘अरू प्रमाणहरूको खोजी पनि गर्ने, अनुसन्धानको अरू विधि–प्रक्रिया अवलम्बन गर्ने भन्ने छ,’ उनले भने, ‘कसैले भन्यो भन्ने आधारमा मुद्दा चलाउन मिल्दैन होला।

त्यसकारण प्रहरीले खाली बयानको आधारमा मात्र होइन तथ्य प्रमाणसँग पनि त्यसलाई जोडेर अगाडि बढाइरहेको छ।’

उनले मुद्दा अदालतमा पुगिसकेकाले फैसलालाई पर्खनुपर्ने बताए।

सरकार नक्कली शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्‍याएर बाँकी भ्रष्टाचारका विषयमा छानबिनको प्रक्रियामा अघि बढ्ने।

भ्रष्टाचार र कमिसनले देशलाई जर्जर बनाएकाले यसलाई नफ्याल्दासम्म समृद्धिको लक्ष्य हासिल नहुनेमा पनि उनले जोड दिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै युवा संघको टोली गृहमन्त्रीलाई ध्यानकर्षण गराउन पुगेको थियो।

साताकाे चर्चित
सम्बन्धित