विश्व बैंक,आईएलओमा कन्सल्टेन्ट भइसकेका इन्जिनीयर लक्ष्मण केसीले सिडेनको नेतृत्व लिँदै
विश्व बैंक,आईएलओमा कन्सल्टेन्ट भइसकेका इन्जिनीयर लक्ष्मण केसीले सिडेनको नेतृत्व लिँदै
    • Bell Sanchar

    • १२ जेष्ठ २०८०, शुक्रबार

काठमाडौँ ।

आगामी १३ जेठमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को सातौ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन हुँदैछ ।

नेपाली काँग्रेसको शुभेच्छुक संस्था सिडेनको केन्द्रीयसँगै प्रदेशहरूको समेत कार्य समिति चयन हुनेछ ।

कार्यकारिणी समितिको अध्यक्ष पदका लागि विभिन्न व्यक्तिहरूले उम्मेदवारी दिएका छन् ।

यसै क्रममा इन्जिनियर लक्ष्मण केसी प्यानलसहित अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

विदेशमा आकर्षक जागिर छाडेर नेपालमा केही गर्ने सोचका साथ नेपाल फर्केका इन्जिनीयर केसीले सिडेनलाई प्रविधिमैत्री बनाएर सम्पूर्ण इन्जिनीयरको हक, हित र अधिकारमा लाग्ने बताएका छन् ।

उनले विगतमा आफूले गरेको काम र सिडेनमा गरेको योगदानको आधारमा विजयी गराउने अपेक्षा राखेको बताएका छन् ।

सिडेनका संस्थापक तथा पूर्व उपाध्यक्षसमेत रहेका केसीले यो पटकको नेतृत्व आफूले पाएमा धेरै काम गर्ने बताए ।

अक्मी इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरेका केसीले अमेरिकाको युनिभर्सिटी हवाईबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका छन् ।

केसीले विश्व बैंक, आईएलओ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा कन्सल्टेन्टको रूपमा समेत काम गरिसकेका छन् ।

अमेरिकामा मास्टरको पढाई सकेपछि केही समय पेशागत काम समेत गरेका थिए । त्यसपछि नेपाल फर्किएर अहिले आफ्नो कर्मसँगै सामाजिक कार्यमा समेत सक्रिय छन् ।

अहिले उनी नेपाल इन्टिग्रिडेड रिसर्च एण्ड डेभ्लपमेन्ट फाउन्डेशनको एक्जुकेटिभ डाइरेक्टर छन् । त्यस्तै एक्जुकेटिभ कन्सल्टिङ इन्जिनियर्स एण्ड प्लानर्सको डाइरेक्टर समेत छन् ।

के छन् योजना ? सिडेनको निर्वाचनमा ६ हजार भन्दा बढी इन्जिनियरहरूले निकै उत्साह र उमंगका साथ हेरेका छन् ।

त्यसका लागि उनीहरूले राम्रो मिसन र भिजन भएको सक्षम उम्मेदवार खोजिरहेका छन् ।

इन्जिनियर केसीले उक्त मिसन र भिजन आफूसँग रहेको दाबी गरे ।

अहिले देशको माग नै युवा, डेलिभरी भएको, केही नयाँ गर्न सक्ने खालको हुनुपर्छ भन्ने रहेको भन्दै संस्थाहरूमा पनि यस्तै चाहिने उनले बताए ।

‘हाम्रो संस्थामा पनि राम्रो, उर्जावान, सक्षम खालको व्यक्ति आउनुपर्छ भन्ने आम इन्जिनियर साथीहरूको चाहना हो ।

त्यसका लागि लागि मेरो उम्मेदवारी हो’ केसीले भने । उनले अगाडि भने, उपाध्यक्ष भएको बेला थुप्रै काम गरिसकेको छु ।

राष्ट्रिय कन्फ्रेन्सको आयोजना गर्नेदेखि लिएर विभिन्न समितिमा चेयरमेनको रूपमा कामको अनुभव छ । सबै कुराले अरू उम्मेदवारहरूभन्दा म सक्षम छु ।’ प्रत्येक २÷२ वर्षमा सिडेनको निर्वाचन हुँदै आएको छ ।

यो नितान्त आन्तरिक चुनाव भएकाले यहाँ हार र जितको भन्दा पनि संस्थालाई कसरी अगाडि बढाउने भन्ने कुराको कार्यदिशामा केन्द्रीत भएको उनको भनाई छ ।

‘हाम्रा थुप्रै खालका समस्या, चुनौती छन् । राज्यसँग लड्नुपर्ने थुप्रै विषय छन् । ती सबै कुरामा हामी दृढ भएर अगाडि बढ्छौ ।

सम्पूर्ण इन्जिनियरहरूको हक हितका लागि लड्छौं ।’ केसीले भने । अहिले मुलुकका इन्जिनियरहरूको माग र उत्पादनबारे कहीँ कतै अध्ययन नभएको उनको भनाई छ ।

‘हामीसँग कति इन्जिनियर छन् । नेपालमा कतिले पढिरहेका छन् भन्ने जानकारी त आउँछ ।

तर बाहिर देशबाट पनि पढेर आउँछन् । उनीहरूको यकिन डाटा आएन । नेपाल इन्जिनियरिङ काउन्सिलले बल्ल लाइसेन्स दिन थालेको छ ।

अब यकिन तथ्यांक आउन सक्छ कि रु’ उनले भने । इन्जिनियरहरूको पेशागत हकहितका लागि समेत आफूले काम गर्ने भन्दै उनले भने, ‘हामीले उचित मूल्यमा काम गर्न पाएका छैनौं ।

हामीभित्रमा पनि दक्षताको कमी छ । त्यसका लागि अभिमुखीकरण चाहिन्छ ।’ अभिमुखीकरणमा लाग्ने उनको भनाई छ ।

सबै इन्जिनियरहरूले आफूलाई अत्यधिक मत दिएर विजयी गराउनेमा आफू पूर्ण विश्वस्त रहेको उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित