गुप्तचरको आफ्नै तालिम केन्द्र बन्दै
गुप्तचरको आफ्नै तालिम केन्द्र बन्दै
    • Bell Sanchar

    • २५ जेष्ठ २०८०, बिहीबार

 काठमाडौं ।

राष्ट्रिय अनुसन्धान विभागको आफ्नै तालिम केन्द्र बन्ने भएको छ । हालसम्म विभागका कर्मचारीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा तालिम दिइँदै आएको थियो ।

हालै आफ्नै तालिम केन्द्र बनाउनका लागि विभागले कागेश्वरी मनोहरा नगरपालिकामा ३५ रोपनी जग्गा प्राप्त गरेको छ । सरकारी स्वामित्वमा रहेको जग्गा विभागको नाममा आएको हो ।

‘संगठनका कर्मचारीको क्षमता अभिवृद्धिका लागि विशेष पहल थालिएको छ, त्यही क्रममा भौतिक रुपमा पनि संगठनलाई बलियो बनाउने हिसाबले आफ्नै तालिम केन्द्र बनाउन पहल थालिएको थियो’, विभागका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने, ‘त्यही अनुसार लामो पहलपछि कागेश्वरी मनोहरा नगरपालिकामा रहेको जग्गा विभागको स्वामित्वमा आएको छ ।’

तालिम केन्द्रको डीपीआर बनाउने र पर्खाल लगाउनका लागि दुई करोड रुपैयाँभन्दा बढी बजेट समेत छुट्टिएको स्रोतको भनाइ छ ।

ती अधिकारीका अनुसार पछिल्लो समय राष्ट्रिय अनुसन्धान विभागमा अधिकारीहरुको क्षमता अभिवृद्धिमा जोड दिइएको छ ।

त्यसअनुसार अहिले आतंकवाद, राष्ट्रिय सुरक्षा लगायतका विषयमा तालिमहरु पनि सञ्चालन भइरहेको छ।

‘संगठनको सुदृढिकरणका लागि अधिकारीहरुको क्षमता विकास र सूचना विश्लेषण क्षमतालाई थप बलियो बनाउन विज्ञहरुबाट तालिम गराइरहेका छौं’, ती अधिकारीले भने, ‘संगठनलाई अन्य मुलुकका गुप्तचरी निकायहरु सरह बलियो बनाउने हिसाबले आन्तरिक सुदृढिकरणमा जोड दिएका छौं।’

त्यही नीति अनुसार गुप्तचरको आफ्नै तालिम केन्द्र बनाउन लागिएको उनले बताए ।

‘तालिम केन्द्र लिएपछि बाहिरी मुलुकका अधिकारीहरु पनि यहाँ आएर तालिम लिने वातावरण बन्छ, उनीहरुका कुरा पनि बुझ्नसक्ने मौका हुनसक्छ’, ती अधिकारी भन्छन् ।

साताकाे चर्चित
सम्बन्धित