जुम्ला , विवाह गर्दा अनिवार्यरुपमा वडाको सिफारिस लिनुपर्ने निर्णय
जुम्ला , विवाह गर्दा अनिवार्यरुपमा वडाको सिफारिस लिनुपर्ने निर्णय
    • Bell Sanchar

    • २६ जेष्ठ २०८०, शुक्रबार

काठमाडाैं

जुम्लाका स्थानीय तहले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेका छन् ।

जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्यरुपमा वडाको सिफारिस लिनुपर्ने निर्णय गरेको छ ।

विवाह गर्ने जोडीले वडा कार्यालयबाट सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ । बाल विवाह रोकथामका लागि यस्तो प्रावधान गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस अनिवार्य गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् ।

पालिकाका नौवटै वडालाई परिपत्रसमेत गरिएको छ । पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ । बाल विवाह रोक्न वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ ।

वडावासीले विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ । बाल विवाह न्यूनीकरण गर्न तिला–६ लाई बाल विवाहमुक्त वडा घोषणासमेत गरिएको छ ।

देखासेखीले गर्दा हुने बाल विवाहलाई रोक्न वडाको सिफारिसले निकै महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।

‘पालिकाका सबै वडालाई बाल विवाहमुक्त गर्न लागिपरेका छौं’ उनले भने ।

कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।

जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेश गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

विवाह गर्दा अनिवार्य वडाको सिफारिस गरेसँगै वडाबाट सिफारिस लिनेको सङ्ख्या बढेको तिला–१ को वडा कार्यालयले जनाएको छ ।

पालिकाको वडा नं ६ निवासी विकास रोकायाले विवाहका लागि वडाबाट सिफारिस लिएर विवाह गरेको वडाध्यक्ष जङ्ग रोकायाले जानकारी दिए ।

यस्तै, पातारासी गाउँपालिकाले पनि विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताइन्।

सिञ्जा गाउँपालिकाले पनि विवाह गर्दा अनिवार्य वडाको सिफारिस लागु गरेको जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित