धरानबाट आजै काठमाडौं आएका थिए गोलीकाण्डका घाइते
धरानबाट आजै काठमाडौं आएका थिए गोलीकाण्डका घाइते
    • Bell Sanchar

    • २८ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी), काठमाडौंको टोलीले एक महिना अघिदेखि भारतबाट लागूऔषध ल्याउने एउटा टोलीको पिछा गरिरहेको थियो ।

दुई जना पक्राउ परिसकेका थिए । धरान बस्दै आएका विकास भगतले भारतको जोगबनी नाकाबाट यो गिरोहका लागि डिलरका रुपमा लागूऔषध ल्याउने गरेको अनुसन्धानबाट खुलेको थियो ।

त्यही क्रममा भगतले आइतबार बिहान ८ बजे विराटनगरबाट काठमाडौं आउन हवाई टिकट काटेको सूचना प्रहरीले पायो । त्यही सूचनाको आधारमा ब्यूरोको एक टोली विमानस्थलमा खटिएको थियो ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलबाट निस्किँदासम्म उनीसँग लागूऔषध थिएन’, ब्यूरोका एक अधिकृतले भने, ‘हामीले अरु नेक्ससबारे पनि पत्ता लगाउनुपर्ने भएकाले पिछा मात्र गरिरहेका थियौं ।’

विमानस्थलबाट निस्किएपछि भगत विमानस्थल पछाडि पीपलबोटको बायाँतर्फबाट गौशाला जाने बाटोतिर गए । त्यहाँ उनी होटलमा प्रवेश गरे ।

उनी होटलमा प्रवेश गरेपछि प्रहरी टोली पछि पछि भित्र गयो । अनुसन्धान अधिकृतहरुका अनुसार उनले त्यहाँ कसैलाई सामान हस्तान्तरण गर्न लागेका थिए ।

तर, तल्लो तलामै प्रहरीसँग घम्साघम्सी भयो । प्रहरी भएको बताउँदै पक्राउ गर्न लागेको जानकारी गराउँदा उनले प्रतिकार गर्न खोजेको अधिकृतहरु बताउँछन् ।

‘त्यसक्रममा उनले प्रहरीकै हतियार खोसे, खास उनीसँग साथमा हतियार पनि हुने रहेछ’, ती अधिकृतले भने, ‘प्रहरीलाई नै जोखिम हुने स्थिति भएपछि घुँडामुनि गोली हानिएको हो ।’

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) का प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार, घाइते उनलाई लगत्तै उद्दार गरेर काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको थियो ।

‘उनको साथमा १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ’, थपलियाले  भने । अन्य घटनाहरुमा लागूऔषध कारोबारी आफैं सेवनकर्ता पनि हुन्छन् ।

तर, विकास आफू चाहिँ लागूऔषध सेवन नगर्ने प्रहरी बताउँछ ।

धरानमा तरकारी पसल सञ्चालकको भेषमा बस्ने उनी भारतबाट लागूऔषध ल्याएर काठमाडौंमा आपूर्ति गर्ने गरेको भेटिएको प्रहरी अधिकृतहरु बताउँछन्

साताकाे चर्चित
सम्बन्धित