प्रस्तावित प्रधानन्यायाधीशको बिहीबार ८ बजे सुनुवाइ
प्रस्तावित प्रधानन्यायाधीशको बिहीबार ८ बजे सुनुवाइ
    • Bell Sanchar

    • ३१ जेष्ठ २०८०, बुधबार

काठमाडौं।

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाईका लागि बिहीबार बोलाइएको छ ।

बुधबार उजुरीकर्ताको छलफलपछि सुनुवाइ समितिले भोलि बिहान (बिहीबार) ८ बजेका लागि बोलाउने निर्णय गरेको हो।

समितिले उजुरीकर्ताहरुसँग करिब २० मिनेटसम्म छलफल गरेको थियो। तर उजुरीको विषयमा छलफल हुन सकेन।

त्यसपछि समितिले समय सकियो भन्दै उनीहरुलाई बाहिर पठाएको थियो ।

गत वैशख २५ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्न सकिरहेको थिएन ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।

हाल कार्की कामु प्रधानन्यायाधीश छन् । प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट ५÷५ जना छन् ।

कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी सदस्य छन् ।

नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल सदस्य रहेका छन् ।

माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा सदस्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शमशेर जबरा र जनता समाजवादी पार्टीको तर्फबाट प्रकाश अधिकारी सदस्य छन् ।

साताकाे चर्चित
सम्बन्धित