बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति
बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति
    • Bell Sanchar

    • १ असार २०८०, शुक्रबार

ताप्लेजुङ ।

बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता कुशराम कार्कीले काबेली खोलाले सिदिङवा र सिरिजंगा गाउँपालिका क्षति पुर्याएको अपुष्ट सूचना आएको जानकारी दिए ।

‘स्थानीयले बाढीले क्षति पुर्यायो भनेर भनेका छन्, हामी स्थानीय प्रहरीबाट पुष्टि गर्न खोजिरहेका छौं,’ कार्कीले भने ।

स्थानीयका अनुसार बुधबार बेलुकादेखि नै ताप्लेजुङमा वर्षा भएको थियो । बिहीबार राति करिब १० बजे ठूलो बाढी नै आयो ।

वर्षा र बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको छ । यो पुल गत जेठमा मात्रै उदघाटन गरिएको थियो ।

बाढीले काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामानसमेत बगाएको छ । ठाउँ–ठाउँमा पहिरो र बाढीले बाटो अवरुद्ध भएकाले सवारी साधन पनि सन्चालन हुन सकेका छैनन् ।

कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र केही स्थानीयका घर जोखिममा छन् । जोखिम महसुस भएपछि स्थानीयवासी आफ्ना सामान बोकेर सुरक्षित स्थानमा गइरहेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङमा गत २४ घण्टामा ३१.६ मिलिमिटर वर्षा भएको छ ।

साताकाे चर्चित
सम्बन्धित