समाजवादी मोर्चा’ बनाउने एकीकृत समाजवादीको निर्णय, एक-दुई दिनमा घोषणा हुने
समाजवादी मोर्चा’ बनाउने एकीकृत समाजवादीको निर्णय, एक-दुई दिनमा घोषणा हुने
    • बेल संचार

    • १ असार २०८०, शुक्रबार

 काठमाडौं ।

सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुले बनाउने भनेको समाजवादी मोर्चा आज घोषणा नहुने भएको छ ।

आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा गठनको घोषणा नहुने भएको हो । यसअघि नेताहरुले आज असार १ गते मोर्चा गठनको घोषणा हुने बताएका थिए ।

मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने पक्का छ । यसमा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपालाई समेट्नेबारे छलफल भइरहेको छ ।

एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले दलहरुको आन्तरिक तयारी नपुगेकाले आज मोर्चा घोषणा नहुने बताउँदै भने, ‘अझै एक–दुई दिन लाग्ने नै जस्तो देखियो, सबैको आन्तरिक बैठक र तयारी पूरा नभएको हुनाले ।’

मोर्चाबारे छलफल गर्न आज एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठक बसेको थियो ।

बैठकमा सो पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल अनुपस्थित थिए ।

त्यसैले औपचारिक निर्णय भएन । तर मोर्चामा सामेल हुने र छिटो घोषणा गर्नका लागि पहलकदमी लिने सर्वसम्मत निर्णय भएको नेता खतिवडाले जानकारी दिए ।

खतिवडाले भने, ‘हाम्रो पार्टीको आन्तरिक तयारी पूरा भइसकेको छ । अरु पार्टीहरुको केही कुरालाई पर्खनुपर्ने स्थिति भएको हुनाले आज चाहिँ यो समाजवादी मोर्चा नेपालको घोषणा हुन नसक्ने तर अत्यन्तै चाँडै यो घोषणा गर्ने ठाउँमा अन्य दलहरुसँग छलफल भइरहेको स्थिति छ ।’

साताकाे चर्चित
सम्बन्धित