प्रधानमन्त्री दाहाललाई कांग्रेस सांसदको चेतावनी
प्रधानमन्त्री दाहाललाई कांग्रेस सांसदको चेतावनी
    • Bell Sanchar

    • १ असार २०८०, शुक्रबार

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने आफूहरूको भूमिकाको अवमूल्यन नगर्न चेतावनी दिएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद घिमिरेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूहरूले दिएको मतको ख्याल गर्न आग्रह गरेका हुन् ।

सरकारबाट अपेक्षा गरे अनुरूपको बजेट आउन नसकेको भन्दै उनले असन्तुष्टि जनाए । ‘तपाईं एक्लै जितेर प्रधानमन्त्री बन्नुभएको होइन । हामीजस्ता मान्छेहरू चुनाव जितेर आएको हुनाले प्रधानमन्त्री हुनुभएको हो,’ उनले भने, ‘आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएर भोलि आफूमात्रै जितेर आउने सोच त्याग्नुस् ।

हाम्रो काम नेताले गरेको गठबन्धनलाई भोट हाल्ने, सरकारले ल्याएको कानून र बजेट टेबुल ठोकेर पास गर्ने, सरकारलाई समर्थन दिने र ५० घण्टा भाषण सुन्ने र पाँच मिनेट भाषण गर्ने ! यत्ति हो हाम्रो काम ?’सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय कुद्दा-कुद्दा जुत्ताको तलुवा खिइए पनि हात लागि शून्य भएको उनले बताए ।

पार्टीको समर्थन पाएर मात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्री दाहाललाई उनले चेतावनी दिए । ‘बजेट विनियोजन गर्ने समयमा संघ र प्रदेशका मन्त्रालय कुद्दा-कुद्दा जुत्ताका तलुवा खिइए । तर, हात लाग्यो शून्य । तपाईंलाई लागेको होला पार्टीको समर्थन पाएपछि पुग्छ । विगतको इतिहास हेर्नुभएकै छ, आफ्नै बहुमत सरकार असफल बनाइदिएको । हेक्का रहोस् यो गठबन्धनको सरकार हो ।’

साताकाे चर्चित
सम्बन्धित