यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो
यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो
    • Bell Sanchar

    • १ असार २०८०, शुक्रबार

काठमाडौं।

यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो  छ। यतिबेला भक्तपुरका चारवटै नगरपालिका क्षेत्रका खेतहरूमा धान रोप्ने किसानको लर्को देखिन्छ।

बिहीबारदेखि ठूलो पानी परेर खेतमा पानी भरिएपछि त्यहाँका किसानहरू धान रोपाइँमा जुटेका हुन्। तर, जेठ महिनामा पानी नपर्नाले धानको बीउ ब्याडमै डढ्ने र मर्ने हुँदा यसपालि बीउको अभाव भएको किसानको भनाइ छ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलका किसान सानुकाजी कार्कीले घामले धानको बीउ डढेर कम भएपनि रोपाई नरोकिएको बताए।

उनले ब्याडमा रहेका छोटा बीउसमेत रोपेर धान रोपाइँलाई  तीव्रता दिइएको बताए।

रासायनिक मलको भने अभाव भएको उनले बताए। ‘पानी परेर खेतका गरा भरिएपछि किसानलाई धान रोपाइको चटारो परेको छ, यतिखेर रासायनिक मल भने आवश्यकताअनुसार पाइएको छैन,’ उनले भने।

चाँगुनारायण नगरपालिका–४ छालिङमा खेतमा रोपाइँ गरिरहेका भक्तपुर नगरपालिकाका किसान कल्पना वासीले खेतका आली भरिएपछि रोपाइँमा किसान व्यस्त भएको बताइन्।

उनले धान रोपाइँमा आवश्यक पर्ने मल मात्र नभई जनशक्ति पनि कम भएको बताइन्।

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस वर्ष जेठ अन्तिममा पर्याप्त पानी परेपछि असार १५ सम्ममा भक्तपुरका सबै क्षेत्रमा रोपाइँ सम्पन्न हुने अवस्था रहेको चाँगुनारायण नगरपालिका–९ का किसान सानुभाई गिरीले बताउँछन्।

कतिपय किसानको धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन्। सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्थामा यस वर्ष आकाशे पानीले नै असार सुरु हुनेबित्तिकै खेतमा पानी भरिएपछि किसान रोपाइँमा लागेका हुन्।

साताकाे चर्चित
सम्बन्धित