झापामा सशस्त्र कुटपिट घटना: सशस्त्रका इन्स्पेक्टरसहित तीन जना निलम्बित
झापामा सशस्त्र कुटपिट घटना: सशस्त्रका इन्स्पेक्टरसहित तीन जना निलम्बित
    • Bell Sanchar

    • १ असार २०८०, शुक्रबार

काठमाडौं। 

झापामा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नमप्रभाव राईसहित तीन जना निलम्बनमा परेका छन्।

सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राई र जवानहरू रामसुन्दर तामाङ तथा जीवन बाँस्तोलालाई निलम्बन गरिएको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी निरीक्षक राईलाई गृह मन्त्रालय तथा  जवानहरू तामाङ र बाँस्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले निलम्बन गरेको हो।

यसअघि सो घटनाको छानबिनको लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो। सो समितिलाई यथाशिघ्र प्रतिवेदन बुझाउन भनिएको छ।

प्रहरी निरीक्षक राईसहितको टोली गत राति मेचीनगर नगरपालिका-४ नकलबन्दस्थित सीमा क्षेत्रमा पुगेका थिए।

उनीहरूले सशस्त्र हवल्दार गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार सन्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीमाथि कुटपिट गरेका थिए।

निरीक्षण गर्दै हिँडेको इन्स्पेक्टरको टोलीले कार्यालयभित्रै कुटपिट गरेका भने होइनन्। इन्स्पेक्टर राईले उनीहरूलाई खोला किनारमा लगेर कुटपिट गरेका थिए।

सार्वजनिक स्थानमै कुटपिट भएपछि स्थानीयहरूले पनि देखेका थिए। सादा पोशाकमा रहेका व्यक्तिहरूले सशस्त्र प्रहरीको बर्दीमा रहेकाहरूमाथि कुटपिट गरिरहेको देखेपछि स्थानीयहरूले पनि प्रतिकार गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित