प्रधानमन्त्री दाहाल , हतारमा नेकपा बनाउँदा त्रुटि भयो, त्यसैले यसपटक मोर्चा बनायौं
प्रधानमन्त्री दाहाल , हतारमा नेकपा बनाउँदा त्रुटि भयो, त्यसैले यसपटक मोर्चा बनायौं
    • Bell Sanchar

    • ४ असार २०८०, सोमबार

काठमाडौं।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा पार्टी एकता गर्दा त्रुटि भएको भन्दै यसपटक मोर्चाको अभ्यास गरेको बताएका छन् । ‘सबैले आत्मसमीक्षा गर्नुपर्छ । हामीले कहाँ त्रुटि गर्‍यौं । आत्मसमीक्षा गरौं । पार्टी एकता गर्न हतारो पो गरेछौं ।

समाजवादी मोर्चा बनाएर, छलफल गरेर, कार्यशैलीमा छलफल गरेर एकतासम्म पुगेको भए सफल हुन्थ्यौं कि ? यो सोच्न जरुरी छ,’ समाजवादी मोर्चा गठन कार्यक्रममा प्रचण्डले भने, ‘नेकपाले देशलाई समाजवाद, आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढाउँछ भन्ने विश्वास लिएका थियौं तर दुर्भाग्य जनता र कार्यकर्ताको अपार उत्साह हुँदा पनि हामीले एकतालाई जोगाउन सकेनौं ।

मोर्चाको बाटोबाट नगएर भएको दुर्घटनापछि यसपटक मोर्चाको नयाँ अभ्यास गरेका हौं ।’ ‘समाजवादी मोर्चा हिजोको अनुभवको नयाँ सश्लेषण हो । हाम्रो सफलतालाई अब कसैले रोक्न सक्दैन । हामीले यसपटक एकता,  स्वतन्त्रता तथा द्वन्द्ववादलाई मोर्चामा संश्लेषण गरेका छौं ।’

हिजोको कमजोरी तीतामिठाबाट सिकेर अगाडि बढ्ने उनले बताए । ‘हिजोका तीतामिठा, आफ्नै कमजोरीप्रति पाठ सिक्दै सामाजिक न्याय र सुशासनको युगतिर देशलाई अगाडि लाने गम्भीर भएर अगाडि बढ्ने हाम्रो तयारी हो,’ प्रचण्डले भने, ‘हिजो हतारमा एकता गरेर व्यवहारमा सफलता हासिल गर्न नसकेकाले मोर्चाबाट जाऊँ, द्वन्द्वात्मक बाटोबाट जाऊँ भनेर गरिएको यो सत्प्रयास हो ।’

३ पार्टीबीच निर्वाचनअघि नै मोर्चा बनाउने कुरा भएकोमा विप्लव थपिँदा गुणात्मक र क्रान्तिकारी महत्त्व भएको उनले बताए ।

‘यहाँसम्म आइपुग्दा विप्वल नेतृत्वको नेकपा पनि मोर्चामा सामेल  हुनुले यसको गुणात्मक र क्रान्तिकारी महत्त्व छ,’ प्रचण्डले भने, ‘पार्लियामेन्टरी प्रणालीमा लागेकाले हामीलाई केही धुलोमैलो लागेको छ तर विप्वल जस्ता पार्टीमा आउँदा हाम्रो धुलोमैले पनि सफा हुन सक्छ ।’

परिवर्तनलाई होच्याउने र चुनौती दिनेलाई सावधान हुन उनले चेतावनी पनि दिए । ‘परिवर्तनलाई होच्याउने, अराजक, प्रतिगामीले टाउको उठाउन खोजेको छन् । फेरि देशलाई प्रगितमन र सामन्ती व्यवस्थातिर टाउको देखाउँदै छन् । हाम्रो यो अभियान उनीहरूको कदमलाई निस्तेज पार्न पनि हो,’ प्रचण्डले भने, ‘देशलाई अराजकता र निरंकुशतातिर धकेल्न खोज्नेविरुद्ध हामी मोर्चामा सामेल भएका हौं ।’

साताकाे चर्चित
सम्बन्धित