चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आज स्वदेश फर्कने
चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आज स्वदेश फर्कने
    • Bell Sanchar

    • ६ असार २०८०, बुधबार

काठमाडाैं  ।

चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आज स्वदेश फर्कने भएका छन्।

नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहेका उनी दस दिने भ्रमण पूरा गरि आज स्वदेश फर्कन लागेका हुन्।

तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको सिचुवान प्रान्तको छेन्दुबाट चार्टड विमान मार्फत आज बिहान ९.२५ बजे पोखरा बिमानस्थलमा आईपुग्ने कार्यक्रम छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडानका यात्रुका रूपमा आउन लागेका उनलाई  पर्यटनमन्त्री सुदन किरातीले स्वागत गर्नेछन्।

चार्टर्ड विमानमा चीनबाट नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलमा सहभागी हुने खेलाडीहरु आउँदैछन् । पोखराको फेवातालमा असार ८ र ९ गते (२३–२४ जुन २०२३ )मा फेस्टिभल हुँदैछ ।

चीनको सहुलीयतपुर्ण ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलायन्सले पहिलो उडान गर्न लागेको छ।

अध्यक्ष तिमिल्सिना र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीका बिचमा भएको भेटवार्ताका क्रममा सिधा उडानको बिषय उठान भएपछि चीनले उडानको तयारी थालेको हो।

चीन भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले काठमाण्डौ सहित पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा समेत चीनका बिभिन्न शहरबाट सिधा उडान गर्न आग्रह गरेका थिए।

अध्यक्ष तिमिल्सनाले भ्रमणका क्रममा बेइजिङमा चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङ संग भेटवार्ता गरेका थिए।

उनले तिब्बतमा चीनियाँ कम्युनिष्ट पार्टी तिब्बतका पार्टी महासचिव वाङ चेङजुङ र सांघाईमा चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले शिष्टाचार भेट गरेका थिए । सबै भेटमा उनले  नाकामा सहजीकरण, सिधा उडान, भौतिक पुर्वाधार निर्माण सहित द्विपक्षीय सहयोग र सहकार्यका बिभिन्न पक्षमा छलफल भएका थिए ।

अध्यक्ष तिमिल्सिनाले  तिब्बतमा जुन १६ र १७ मा आयोजना भएको पाँचौ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए।

भ्रमणको क्रममा प्रतिनिधिमण्डलले बेइजिङमा बाइदु ग्रुप, स्टेट ग्रिड कर्पोरेसन, संघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई योजना प्रर्दशनी केन्द्र मानसरोवर लगायतका स्थलहरुको अवलोकन भ्रमण गरेका थिए।

चीन भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरु जीवन परियार, धवल शमशेर जंगबहादुर राणा,  प्रदिप यादव तथा  राष्ट्रिय सभाका सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एबम अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा सहभागी छन्।

साताकाे चर्चित
सम्बन्धित