एक सय १५ वर्ष पुरानो मन्दिर पुनःनिर्माण  
     एक सय १५ वर्ष पुरानो मन्दिर पुनःनिर्माण  
    • Bell Sanchar

    • २० भाद्र २०८०, बुधबार

सिन्धुपाल्चोक

पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले चौतारा पुरानो बजारस्थित एक सय १५ वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको कृष्ण मन्दिरको उद्घाटन गर्नुभएको छ ।

नेकपा(माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहनु भएका सापकोटाले आज एक कार्यक्रमकाबीच श्रीकृष्ण जन्माष्टमीको दिन पारेर उक्त मन्दिरको उद्घाटन गर्नुभएको हो । उहाँले कृष्ण मन्दिर जस्तै पुरातत्व महत्त्व बोकेका मन्दिरको खोज अनुसन्धान गरी यस्ता मन्दिरहरूलाई संरक्षण, सम्वर्द्धन गर्नुपर्ने बताउनुभयो ।

संस्कृति आत्मा हो भन्दै परम्परा संस्कृतिलाई जोगाइराख्नुपर्ने उहाँको भनाइ छ । आआफ्नै परम्परा संस्कृति छन् तिनीहरूलाई जोगाइ युवापुस्तालाई बोध गराई नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको नेता सापकोटाले बताउनुभयो ।

यस्तै चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिका यस्ता पुरातात्विक सम्पदाको संरक्षणमा सधैँ लागिरहने बताउनुभयो । “यो हाम्रै सम्पत्ति हो, यसको जगेर्ना हामी आफैँले गर्नुपर्दछ”, नेता सापकोटाले भन्नुभयो ।

छोटो समयमै ऐतिहासिक पुरातात्विक, सांस्कृतिक, धार्मिक र शैक्षिक महत्त्व बोकेको यो मन्दिर पुनःनिर्माण भएकामा खुसी व्यक्त गर्दै उहाँले निर्माण कार्य सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा लागि पर्नुहुने सम्पूर्णमा धन्यवादसमेत व्यक्त गर्नुभयो । नगर क्षेत्रभित्रका प्रयर्टन क्षेत्रको र प्रर्यटन क्षेत्र निर्माणका लागि निरन्तर नगरपालिका नगरपालिका अग्रसर रहिरहने उहाँको प्रतिबद्धता छ ।

लोप हुने अवस्थामा रहेका सांस्कृतिक एवं पुरातात्विक महत्त्व भएका सम्पदाहरूलाई पुनः जीवन दिनु जरुरी छ । विसं १९६४ मा निर्माण भएको कृष्ण मन्दिर २०७२ सालको भूकम्पले ध्वस्त भएको कृष्ण मन्दिर बनेपछि स्थानीय खुसी भएका छन् । विसं २०७९ फागुन १२ गते निवर्तमान सभामुख सापकोटाले नै शिलान्यास गर्नुभएको थियो ।

यो मन्दिर भूकम्प गएको झन्डै सात वर्षपछि मन्दिर पुनःनिर्माण भएको थियो । पुरातत्व विभाग काठमाडौँद्वारा रु दुई करोड लागतमा मन्दिर बनेको हो । मन्दिर निर्माणमा प्रयोग गर्ने सामग्री र मन्दिरको शैली पुरानो डिजाइनकै छ । प्यागोडा शैलीको मन्दिर रहेको छ । हरेक कृष्ण जन्माष्टमीका अवसरमा यहाँ दुई दिन भव्य मेला लाग्दै आएको छ । यस वर्ष पनि बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको कृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कुनैबेला हाल मन्दिर रहेको स्थानमा सिस्नुको घारी रहेको थियो । सो स्थानबाट मध्यरातमा बाँसुरीको धुनको आवाज आउने र धुन सुनेर स्थानीय सो स्थानमा जाँदा धुन आफसेआफ हराउने गर्थ्यो। मध्यरातमा बाँसुरीको धुनको आवाज आएका कारण सोही स्थानमा कृष्णको मन्दिर बनाइ पूजाआजा गर्दै आएको जनश्रुती पाइन्छ ।

साताकाे चर्चित
सम्बन्धित